Logo

एमालेले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने सूर्य थापाको उद्घोष



काठमाडौं, ९ मंसिर । नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वाचित सांसद सूर्य थापाले गठबन्धन दलकै मतदाताको भोटले जितेको बताएका छन् ।

‘मैले नेकपा एमालेको मतले मात्र जितेको होइन, गठबन्धनबाट मन अमिलो बनाएर बसेका कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाकै भोट पनि पाएँ । गठबन्धनबाट थोपरिएको उम्मेदवारलाई हराएर काम गर्न सक्ने, पहुँच भएको साझा प्रतिनिधिका रुपमा मलाई जिताए । अब म जनचाहना अनुसार काम गर्छु । प्यूठानको आवाजलाई मुखर बनाउँछु र सांसदको भूमिका प्रभावकारी बनाउँछु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।

एमालेले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष पनि उनले गरे । थापाले थपे, ‘हामीले मंसिर ४ ओली सरकारको नारा दिएकै छौं । त्यसकै निम्ति जनतालाई अपिल गरेका हौं । एमाले अध्यक्ष ओलीको नेतृत्वमा जनमुखी, देशभक्त र राष्ट्रिय स्वाभिमानको सरकार बनाउने वाचा गरेका थियौं । अब कस्तो गठबन्धन बनाउने भन्ने कुरा अध्यक्ष कमरेडहरुले नै ध्यान दिने विषय हो । म त प्यूठानमै मतदाता भेटघाटमा छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा गर्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘रविजी मेरा मित्र हुनुहुन्छ । उहाँको कुरा सुनेर किन उत्तेजित हुनुपरेको छ र ? उहाँले देशभरि घण्टी बजाउने कोसिस गर्नुभएको छ । सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ भन्ने कुरा उहाँलाई थाहै होला । बहुमत जुटाउने ठूला, साना दल जसले सरकार बनाए पनि हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot