Logo

चुनाव जितेको ७२ घण्टा भित्रै सुनिल शर्मा एक्सनमा उत्रिए 



मोरङ, ११ मंसिर । मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् ।

उनले निर्वाचन अघि मतदातामाझ आफूले गरेको प्रतिवद्धताअनुसार नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए ।

शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।

‘हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रूपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्नथियो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन् ।’– उनले भने । सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पूरा गर्ने गरी काम सुरु भएको बताए ।

शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम ढकालले २५ हजार ८९५ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot