Logo

बालेनलाई असफल पार्ने षड्यन्त्र भयो : विश्लेषक रायमाझी



काठमाडौं, १५ मंसिर । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले राजनीतिक दलहरुले सुकुम्बासीहरुको समस्या समाधान नगरेर उनीहरु माथि नै राजनीति गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘दलहरुले आफ्नो स्वास्थपुर्तिको माध्यम बनाएर कहिले सुकुम्बासी आयोगको नाममा त कहिले भूमिहिनहरुको नाममा राज्यबाट जनतालाई सधै भ्रममा पारियो ।’

रिपोर्टर्स क्लब नेपालमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले काठमाडौं महानगरपालिका मेयर बालेन शाहको अवैधानिक संरचना भत्काउने कार्यको प्रंशसा गर्दै अधिकार सम्पन्न भूमि आयोगले सुकुम्बासी बस्तीका नागरिकहरुको व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने धारणा राखे । उनले भने,‘आयोग आफैले समस्या समाधानको पहल गर्नुपर्थ्यो तर आयोगले उल्टै महानगरलाई आफै भत्काउन आशय राखेर पत्र पठायो,त्यसमा हाम्रो आपक्ति हो ।’ महानगरको स्थानीय निकाय हेर्ने विभाग भएको र सोही विभागको कार्यक्रममार्फत जानुपर्नेमा त्यसो हुन नसकेको उनले तर्क गरे ।

सम्बन्धित सरोकारवालाले आफ्नो कर्तव्य पुरा नगरेर मेयर साहलाई फसाउने षड्यन्त्र गरेको दाबी गर्दै भने,‘मेयरलाई एक्लै पार्ने, असफल पार्ने,फसाउने षड्यन्त्र बाग्मती एकिकरण आयोजनाले पनि खेलेको जस्तो आभास भएको छ ।’ सुकुम्बासीको पनि आफ्नै समस्या र गुनासो रहेको भन्दै लेखक रायमाझीले उनीहरुको माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए । सुकुम्बासीहरुलाई कतै सारेर राज्यले बस्ने वातावरण मिलाउनुपर्ने उनको भनाइ थियो । सुकुम्बासीहरुको समस्या आफूले नजिकबाट देखेको भन्दै सो बस्तीमा पानी पर्दा वर्खाको समयमा हिलाम्मै हुने बताए । सुकुम्बासी बस्तीमा बस्न कसैलाई पनि मन नलाग्ने भन्दै सुकुम्बासीहरु बाध्यताले बस्नु परेको बताए ।

‘संविधानले ग्यारेन्टी गरेका तिनीहरुलाई राज्यले गाँस,वास र कपासको व्यवस्था गर्नुपर्छ ।’–उनले भने,‘सुकुम्बासीलाई सुरक्षित रुपमा बसाएर उपयुक्त स्थानमा सार्र्नुपर्छ । उनीहरुलाई राज्यले शिक्षा, स्वास्थ्य, खानेपानी र आधारभुत आवश्यकता समेत पुरा गर्नुपर्छ ।’ विश्लेषक रायमाझीले राज्यले सञ्चालन गरेको अभियानमा बस्तीमा बस्दै आएका नागरिकहरुले हातहतियार लिएर उभिएकोमा भने आपक्ति जनाए । ‘हातहतियार लिएर उभिनु सभ्य नागरिकको कतव्र्यभित्र पर्दैन् ।’–उनले भने, ‘यस्ता घटनाले सुकुम्बासीको नाममा कतैबाट राजनीति भइरहेको आशंका बढेको छ ।’

महानगरका प्रहरीले कुटाइ खाइरहँदा सरकारी प्रहरी मुखदर्शक मात्र बनेको भन्दै उनले बस्तीको घटनाबारे प्रशासन मौन बसेकोमा आपक्ति जनाए । राज्यले समाधान गर्न नसक्ने हो भने सर्वसाधारण नागरिकलाई कामको जिम्मेवारी दिन पनि आग्रह गरे । राज्यले वार्ताको माध्यमबाट सुकुम्बासी समस्यालाई निकास दिनुपर्ने उनको भनाइ थियो । एक नेपालीले अर्का नेपालीमाथि गरेको दमनको चित्कारले जो कसैको पनि मन रुने उनले सुनाए । राज्यले इच्छा राखेमा यस्ता समस्याको समाधान सजिलै गर्न सकिने बताए ।

 



प्रतिक्रिया दिनुहोस्