काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिनुपर्ने औंल्याएका छन् ।
संसदमा पहिलो पार्टी भएको श्रेय लिने दौडमा म छैन । शेरबहादुरजी पार्टी सभापति हो । पार्टीलाई पहिलो बनाएको श्रेय उहाँले नै लिनुहुन्छ । त्यसमा मेरो पनि सहयोग छ, प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
‘अब मेरो पालो’
यसपटक देउवाले आफूलाई सहयोग गर्नेमा आशावादी रहेको पनि उनले बताए । पौडेलले भने, ‘शेरबहादुर देउवा पार्टी सभापति हो । केन्द्रीय समितिमा उहाँसँग बहुमत छ । उहासँग शक्ति छैन म भन्दिनँ । तर अरुलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने उहाँको विवेकमा भर पर्छ । अब हामीले देश र पार्टीको आवश्यकता र जनताको मुड पनि हेर्नुपर्यो । देशभरि बजेको घण्टीको आवाज पनि सुन्नुपर्यो । तर मलाई शेरबहादुरजीको सहयोग नमिल्ला भन्ने लाग्दैन । पार्टीभित्र न्याय पनि हुनपर्यो नि । उहाँ त पटक पटक प्रधानमन्त्री भइरहनुभएको छ । यसपालि मैले पाउनुपर्छ ।’
देउवाले तपाईंलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘अहिले राष्ट्रपतिको कुनै प्रसंग छैन, कार्यकारी को हुँदा उचित हुन्छ भन्ने प्रसंग छ । बिना जिम्मेवारीको मानिसले केही गर्न सक्दैन । यसपटक प्रधानमन्त्रीका लागि सशक्त दाबी गरेको छु ।’
‘गगनसँग कुनै गुनासो छैन’
यसबारे प्रचण्ड र माधवकुमार नेपालसँग पनि कुराकानी उनले बताए । पौडेले थपे, ‘उहाँहरु दुवै नेतासँग मेरो कुरा भएको छ । उहाँहरुलाई मेरो नाममा आपत्ति हुन्न । मुख्य कुरा त हाम्रै पार्टीमा समझदारी हुनुपर्यो । पार्टीमा त्यो वातावरण बनिसकेको छैन ।’
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता प्रस्ताव गरिसक्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘कांग्रेस धेरै पुरानो अनुभव र योगदान भएका साथीहरु हुनुहुन्छ । गगन र विश्व युवा हुनुहुन्छ । उहाँहरुको दाबीलाई पनि म स्वाभाविक मान्छु । गगनसँग मेरो कुनै गुनासो छैन । युवाको दाबीलाई नसहने, विरोध गर्ने कुरै छैन । हामीले पनि किसुनजी, गणेशमान र गिरिजाबाबुलाई चुनाव नलड भनेर कागज गराएकै हो । राष्ट्र निर्माणमा युवाको भूमिका जरुरी छ । म त्यसको स्वागत गर्छु । तर वार्धक्य निन्दा गरेर पार्टी चल्छ ? निषेधको राजनीति गर्न मिल्छ ? के बलिदान र योगदानको कदर नहुने ? त्याग, तपस्या र संघर्षको कुनै मूल्य छैन ? देशलाई निकास दिने अनुभवको कुनै मूल्य छैन ?’
‘देउवासँग गोप्य सहमति भएको होइन’
चौधौं महाधिवेशनमा देउवा र तपाईंबीच केही गोप्य सहमति भएको थियो भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘त्यस्तो केही सहमति भएको होइन । म निसर्त अलग बसेको हुुँ । मीनेन्द्रजी, शेखरजी, महेशजीले जोगिएर बस्नुस् भन्नुभयो । म नलड्दा मात्र प्रकारान्तरले देउवालाई सहयोग पुगेको हुन सक्छ । तर मैले शेरबहादुर या शेखरलाई भोट हाल भनिनँ । मैले भोट पनि हालिनँ ।’
महाधिवेशनका बेला मुलुकलाई तपाईंको आवश्यकता छ किन भन्नुभयो त भन्ने अर्को प्रश्नमा पौडेलले भने, ‘हो, शेरबहादुरजीले तपाईं स्वास्थ्य राम्रो राख्नुस्, मुलुकलाई तपाईंको आवश्यकता छ भन्नुभएको थियो । मैले तयतिबेला त्यसको परिभाषा खोजिनँ । अहिले आएर त्यसको अर्थ म बुझ्दैछु । उहाँको मुखमा सरस्वती कसरी फुरिन् ? पार्टीमा म सबैभन्दा वरिष्ठ, अवसर नपाएको र परीक्षण नभएको नेता हुँ । म कार्यकारी बन्नु न्यायोचित नै हुन्छ ।’
‘एक व्यक्ति, एक पद’
त्यसो अब पार्टीमा एक व्यक्ति एक पद लागू होला भन्ने प्रश्नमा पौडेलले भने, धेरै वर्षदेखि एक व्यक्ति एक पद भनिँदै आए पनि व्यवहारमा छैन । किसुनजीका पालामा मात्र सभापति र प्रधानमन्त्री छुट्टाछुट्टै हुनुभयो । बीपीदेखि शेरबहादुरजीको पालासम्म त्यो हुन सकेन । एउटा मात्र पद लिएर काम गर्दा देशलाई पनि फाइदा हुन्थ्यो । अब युगको सन्देश बुझ्नुपर्छ । नबुझे हामी फ्याँकिन्छौं ।
गठबन्धनको प्रधानमन्त्री संसदीय दलको नेता नभए पनि हुने उनले जिकिर गरे । पौडेलले भने, कांग्रेसभित्रै प्रधानमन्त्री बनाउने निधो भएपछि गठबन्धनमा कुरा गर्न सजिलो हुन्छ । प्रधानमन्त्रीलाई नै संसदीय दलको नेता बनाए संसदमा सजिलो हुन्छ । उनले गठबन्धन मुलुकको आवश्यकता भएको औंल्याए । पौडेलले थपे, ‘गठबन्धनकै कारण कांग्रेस पहिलो पार्टी भएको छ । म कुनै दललाई दोष दिन चाहन्नँ । नत्र २०७४ को परिस्थिति दोहोरिन सक्थ्यो ।’