Logo

एमाले सचिव भन्छन्- लोभीपापीहरूको गठबन्धनलाई नै सरकारमा बस्ने रहर पुगेको छैन, एमालेले के गर्ने ?



काठमाडौं, १६ मंसिर । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीका नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको बताएका छन् ।
‘एकल सरकार निर्माणका लागि कुनै पनि दलको बहुमत पुग्दैन । दलहरुबीच सहकार्य आवश्यक हुन्छ । तर एमालेलाई सरकारमा जान हतारो छैन । गठबन्धनलाई सरकारमा बस्ने रहर अझै पुगेको छैन जस्तो छ । त्यसमा पनि हामीलाई आपत्ति छैन । राष्ट्रियताको मुद्दा, विकास र समृद्धिमा मुलुक झन् पछि पर्ने मात्र चिन्ता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले भने ।
जेनतेन सरकार बनाए पनि गठबन्धन लामो समय नचल्ने पनि उनले दाबी गरे । रायमाझीले भने, ‘हामीले गठबन्धन फुटाल्नेतिर जोड दिइरहेका छैनौं । पहिले लोभीपापीहरुले रहर पुर्याऊन् । तर उनीहरुको गठबन्धन धेरै लामो समय चल्ने सम्भावना छैन । देशको विकास पनि यिनीहरुबाट सम्भव छैन । त्यसपछि हामीलाई सरकारमा जान असहज हुँदैन ।’ एमाले प्रतिपक्षमा बसेर खबरदारी गर्न तत्पर रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्