Logo

गगन थापामाथि घन्टीसँग मिलेर अन्तर्घात गरेको गम्भीर आरोप, उमेश श्रेष्ठ भन्छन्- हावा नचली पात हल्लिँदैन



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पार्टीकै अन्तर्घातका कारण चितवन २ मा पराजित हुनुपरेको बताएका छन् ।
‘मलाई युवा साथीहरुले अन्तर्घात गर्नुभयो । यो जगजाहेर छ । म अहिले नाम लिन चाहन्नँ । यसबारे देशभरि चर्चा छ । ती साथीहरुले मलाई मात्र होइन, बीसौं साथीहरुलाई चुनाव हराए,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने ।
‘चितवनका कांग्रेसः मुखमा राम राम बगलीमा छुरा’
उनले चितवनका कांग्रेस नेताहरुले नै असहयोग गरेको आरोप पनि लगाए । श्रेष्ठले थपे, ‘केन्द्रबाट निर्देशित भएर चितवनका साथीहरुले नै मलाई  भोट हालेनन् । मलाई क्रियाशील सदस्यहरुकै मत पनि आएन । नेताहरुको व्यवहार मुखमा राम राम, बगलीमा छुराजस्तो भयो । प्रदेशका साथीहरुलाई भोट आयो । मलाई आएन । ७५ प्रतिशत मत घण्टीलाई गयो ।’
चितवन कांग्रेसको सभापति राजेश्वर खनालले मुखले मात्र सहयोग गरेको बताए । उनले भने, ‘म चितवनबासी हुँ । ३२ वर्षदेखि चितवन बसेको छु । मलाई नरुचाएको हो वा पार्टी सभापति शेरबहादुर देउवालाई मन नपराएको हो कि ? हाम्रो रिसले अर्कोलाई भोट हाले । राजेश्वरजीले मुखले सहयोग गर्नुभएको हो, कामबाट भएन । अब १०, १५ वर्षसम्म चितवनको भविष्य छैन । गुटै गुट छ ।’
नेता श्रेष्ठले गगन थापा, शेखर कोइरालालगायत नेताहरुप्रति संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर हराइएको आरोप पनि लगाए । उनले थपे, ‘हावा नचली पात हल्लिँदैन । यो कुरा सबै नेताहरुलाई थाहा छ । जसले अन्तर्घात गर्यो, उसले बेठिक गर्यो । पहिले हामीले एक्लै जितेको ठाउँमा पनि साथीहरुले हार्नुभएको छ । अहिले गठबन्धन भएका बेला कांग्रेसले ८०, ८५ ठाउँमा जित्थ्यौं । । गृहमन्त्रीले हार्नुभयो । संसदमा असाध्यै ठूलो योगदान गर्न सक्ने २०, २५ जनाले नेताहरुले हार्नुभयो । अब त्यस्तो नहोस् ।’
‘देउवाले पार्टी नेतृत्व छाड्न सक्नुहुन्छ, प्रधानमन्त्री छाड्नुहुन्न’
उनले फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताए । श्रेष्ठले भने, ‘पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो सकसको अवस्थामा गठबन्धनलाई एकजुट बनाउनुभयो । पार्टीमा अन्तर्घात भएकाले सन्तोषजनक परिणाम आएन । सहजताका साथ पाँच वर्ष स्थायी सरकार बनाउने उद्देश्य सफलीभूत भएन । अब उहाँलाई काम गर्न दिनुपर्छ ।’
उनले देउवा पाँच चोटि प्रधानमन्त्री भए पनि पाँच वर्ष पनि काम गर्न नपाएको बताए । उनले भने, ‘उहाँ पाँच चोटि प्रधानमन्त्री हुनुभयो । तर सबैभन्दा धेरै चलाएको १८ महिना हो । उहाँले समय नै पाउनु भएन । देउवा कम बोल्नुहुन्छ तर बोल्ड निर्णय गर्नुहुन्छ । उहाँको नेतृत्वमा रहँदा स्थानीय तहमा पहिलो भयो, प्रतिनिधिसभामा पहिलो भयो । अन्तर्घात नभएको भए बहुमतको नजिक पुग्थ्यो । उहाँले पार्टीको नेतृत्व हस्तान्तरण गर्न सक्नुहुन्छ । तर प्रधानमन्त्री छाड्ने सम्भावना देख्दिनँ ।’ तपाईंलाई आरजु देउवाको मान्छे भन्छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘म आरजुको मात्र होइन, सबैको मानिस हुँ । मान्छेले भन्ने एउटा कुरा हो । मलाई टिकट पार्टीले दिएको हो ।’
‘गगन थापाले अति हतार गरे’
पार्टी महामन्त्री गगन थापाले अति हतार गरेको पनि श्रेष्ठले टिप्पणी गरे । उनले थपे, ‘उहाँ प्रधानमन्त्री हुन सक्नु होला । परिवर्तन भनेको समय सापेक्ष हुन्छ । तर सधैं नेताको विरोध गरेर मात्र हुँदैन । विरोध नै गर्नुपर्ने, असहयोग र खण्डन गर्नुपर्ने । सभापतिलाई काम गर्न नदिने । पार्टीभित्र विरोधै विरोध गरेर हराउने ? यस्तो हावा भोलि उहाँहरुलाई पनि लाग्न सक्छ । कांग्रेस रहे न नेता रहने हो । गगनजीले धेरै हतार गर्नुभयो । प्रधानमन्त्री बन्न सक्ने क्षमताको मान्छे हो । तर चार जनाले भनेर कोही प्रधानमन्त्री हुन्छ ?’
अहिले पनि पार्टीका विजेता सांसद र समानुपातिक गरी ७०-७२ जना सांसद देउवाको पक्षमा रहने दाबी पनि उनले गरे । उनले भने, ‘रविजीले स्वतन्त्र पार्टीलाई सहयोग गरेकाले गगन प्रधानमन्त्री भन्नुभयो होला । तर अरु पार्टीले भन्दैमा गगन प्रधानमन्त्री बन्न सक्नुहुन्न । भविष्य बोेकेको मानिसले पार्टीका उम्मेदवारलाई पो सहयोग गर्नुपर्ने हो ।’
‘रवि लामिछाने कांग्रेस प्रवेश गर्न चाहन्थे’
राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । उनले भने, ‘रवि लामिछानेसँग मेरो सम्बन्ध हिजो पनि नराम्रो थिएन, आज पनि छैन । कोभिडका बेला मेरो अस्पताल रविलाई निःशुल्क चलाउन दिएको थिएँ । त्यसबाटै उहाँले नाम कमाउनुभयो । चितवन ३ बाट लड्ने भनेको मानिस मनोनयन दर्ताको दिन अल अफ सडन मेरो क्षेत्रमा आइपुग्नुभयो । मसँग प्रतिस्पर्धा गर्न आउनुभयो । उहाँको अधिकारको कुरा भयो । मलाई रविका निकटस्थ साथीहरुले नेपाली कांग्रेसमा प्रवेश गराउन भन्नुभएके थियो । रविजीको पनि रुचि थियो । मैले एकदुई ठाउँमा भनेको हुँ । कांग्रेसबाट निर्णय आएन । तर पछि गएर त्यत्तिकै सेलायो । अहिलेको घन्टी भनेको हुरी बतास हुन्डरी हो । गल्ली गल्लीमा पुगेर विकास हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot