Logo

‘देउवाले पार्टी नेतृत्व छाड्न सक्नुहुन्छ, प्रधानमन्त्री छाड्नुहुन्न’ : उमेश श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पार्टीकै अन्तर्घातका कारण चितवन २ मा पराजित हुनुपरेको बताएका छन् । ‘मलाई युवा साथीहरुले अन्तर्घात गर्नुभयो । यो जगजाहेर छ । म अहिले नाम लिन चाहन्नँ । यसबारे देशभरि चर्चा छ । ती साथीहरुले मलाई मात्र होइन, बीसौं साथीहरुलाई चुनाव हराए,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने ।

उनले चितवनका कांग्रेस नेताहरुले नै असहयोग गरेको आरोप पनि लगाए । श्रेष्ठले थपे, ‘केन्द्रबाट निर्देशित भएर चितवनका साथीहरुले नै मलाई भोट हालेनन् । मलाई क्रियाशील सदस्यहरुकै मत पनि आएन । नेताहरुको व्यवहार मुखमा राम राम, बगलीमा छुराजस्तो भयो । प्रदेशका साथीहरुलाई भोट आयो । मलाई आएन । ७५ प्रतिशत मत घण्टीलाई गयो ।’

चितवन कांग्रेसको सभापति राजेश्वर खनालले मुखले मात्र सहयोग गरेको बताए । उनले भने, ‘म चितवनबासी हुँ । ३२ वर्षदेखि चितवन बसेको छु । मलाई नरुचाएको हो वा पार्टी सभापति शेरबहादुर देउवालाई मन नपराएको हो कि ? हाम्रो रिसले अर्कोलाई भोट हाले । राजेश्वरजीले मुखले सहयोग गर्नुभएको हो, कामबाट भएन । अब १०, १५ वर्षसम्म चितवनको भविष्य छैन । गुटै गुट छ ।’

नेता श्रेष्ठले गगन थापा, शेखर कोइरालालगायत नेताहरुप्रति संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर हराइएको आरोप पनि लगाए । उनले थपे, ‘हावा नचली पात हल्लिँदैन । यो कुरा सबै नेताहरुलाई थाहा छ । जसले अन्तर्घात गर्यो, उसले बेठिक गर्यो । पहिले हामीले एक्लै जितेको ठाउँमा पनि साथीहरुले हार्नुभएको छ । अहिले गठबन्धन भएका बेला कांग्रेसले ८०, ८५ ठाउँमा जित्थ्यौं । । गृहमन्त्रीले हार्नुभयो । संसदमा असाध्यै ठूलो योगदान गर्न सक्ने २०, २५ जनाले नेताहरुले हार्नुभयो । अब त्यस्तो नहोस् ।’

उनले फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताए । श्रेष्ठले भने, ‘पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो सकसको अवस्थामा गठबन्धनलाई एकजुट बनाउनुभयो । पार्टीमा अन्तर्घात भएकाले सन्तोषजनक परिणाम आएन । सहजताका साथ पाँच वर्ष स्थायी सरकार बनाउने उद्देश्य सफलीभूत भएन । अब उहाँलाई काम गर्न दिनुपर्छ ।’

उनले देउवा पाँच चोटि प्रधानमन्त्री भए पनि पाँच वर्ष पनि काम गर्न नपाएको बताए । उनले भने, ‘उहाँ पाँच चोटि प्रधानमन्त्री हुनुभयो । तर सबैभन्दा धेरै चलाएको १८ महिना हो । उहाँले समय नै पाउनु भएन । देउवा कम बोल्नुहुन्छ तर बोल्ड निर्णय गर्नुहुन्छ । उहाँको नेतृत्वमा रहँदा स्थानीय तहमा पहिलो भयो, प्रतिनिधिसभामा पहिलो भयो । अन्तर्घात नभएको भए बहुमतको नजिक पुग्थ्यो । उहाँले पार्टीको नेतृत्व हस्तान्तरण गर्न सक्नुहुन्छ । तर प्रधानमन्त्री छाड्ने सम्भावना देख्दिनँ ।’ तपाईंलाई आरजु देउवाको मान्छे भन्छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘म आरजुको मात्र होइन, सबैको मानिस हुँ । मान्छेले भन्ने एउटा कुरा हो । मलाई टिकट पार्टीले दिएको हो ।’

‘गगन थापाले अति हतार गरे’

पार्टी महामन्त्री गगन थापाले अति हतार गरेको पनि श्रेष्ठले टिप्पणी गरे । उनले थपे, ‘उहाँ प्रधानमन्त्री हुन सक्नु होला । परिवर्तन भनेको समय सापेक्ष हुन्छ । तर सधैं नेताको विरोध गरेर मात्र हुँदैन । विरोध नै गर्नुपर्ने, असहयोग र खण्डन गर्नुपर्ने । सभापतिलाई काम गर्न नदिने । पार्टीभित्र विरोधै विरोध गरेर हराउने ? यस्तो हावा भोलि उहाँहरुलाई पनि लाग्न सक्छ । कांग्रेस रहे न नेता रहने हो । गगनजीले धेरै हतार गर्नुभयो । प्रधानमन्त्री बन्न सक्ने क्षमताको मान्छे हो । तर चार जनाले भनेर कोही प्रधानमन्त्री हुन्छ ?’

अहिले पनि पार्टीका विजेता सांसद र समानुपातिक गरी ७०-७२ जना सांसद देउवाको पक्षमा रहने दाबी पनि उनले गरे । उनले भने, ‘रविजीले स्वतन्त्र पार्टीलाई सहयोग गरेकाले गगन प्रधानमन्त्री भन्नुभयो होला । तर अरु पार्टीले भन्दैमा गगन प्रधानमन्त्री बन्न सक्नुहुन्न । भविष्य बोेकेको मानिसले पार्टीका उम्मेदवारलाई पो सहयोग गर्नुपर्ने हो ।’

राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । उनले भने, ‘रवि लामिछानेसँग मेरो सम्बन्ध हिजो पनि नराम्रो थिएन, आज पनि छैन । कोभिडका बेला मेरो अस्पताल रविलाई निःशुल्क चलाउन दिएको थिएँ । त्यसबाटै उहाँले नाम कमाउनुभयो । चितवन ३ बाट लड्ने भनेको मानिस मनोनयन दर्ताको दिन अल अफ सडन मेरो क्षेत्रमा आइपुग्नुभयो । मसँग प्रतिस्पर्धा गर्न आउनुभयो । उहाँको अधिकारको कुरा भयो । मलाई रविका निकटस्थ साथीहरुले नेपाली कांग्रेसमा प्रवेश गराउन भन्नुभएके थियो । रविजीको पनि रुचि थियो । मैले एकदुई ठाउँमा भनेको हुँ । कांग्रेसबाट निर्णय आएन । तर पछि गएर त्यत्तिकै सेलायो । अहिलेको घन्टी भनेको हुरी बतास हुन्डरी हो । गल्ली गल्लीमा पुगेर विकास हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot