Logo

तत्काल अर्को गठबन्धन बनाउने निष्कर्षमा पुगिसकेका छैनौंः देव गुरुङ



काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आफ्नो पार्टी तत्काल गठबन्धन परिवर्तन गरेर अर्को बनाउने निष्कर्षमा नपुगेको बताएका छन् ।
‘हामी निर्वाचन समीक्षा गर्ने प्रक्रियामा छौं । समीक्षा बैठक बल्ल आज सुरु हुँदै छ । कुनै निर्णयमा पुगेका छैनौं । पार्टी प्रवक्ता कृष्णबहादुर महराजीले पनि गठबन्धन यथावतै छ, कुराकानी सबैसँग हुन्छ, गर्न सकिन्छ भन्नुभएको हो । अर्को गठबन्धनमा जाने कुरा बैठकमा भएको विषय होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने ।
एमालेसँगको सहकार्यको बारेमा कुनै कुरा नभएको उनको दाबी छ । नेता गुरुङले भने, ‘एमालेसँग माओवादी केन्द्रको कुनै कुराकानी हुनै सक्दैन, छोइछिटो हुनुपर्छ भन्ने होइन । हिजोको बसाइ अनौपचारिक खालको थियो । अहिलको संसद्को त्रिशंकु बनोटका आधारमा राजनीतिक दलहरुबीचको समझदारीबिना सरकार गठनको प्रक्रिया अघि बढ्न सक्दैन । नेतृत्व आपसी सहमतिमा खोज्ने कुरा हो । अहिले त्यो खालको कुराकानी सुरु भएको छैन । सरकार निर्माण संसद्को पावर ब्यालेन्समा निर्भर हुन्छ ।’
कांग्रेसलाई बाहिर राखेर एमालेसँग गर्ने सहकार्य गर्ने माओवादी नेतृत्वले नभनेको पनि उनले प्रस्टीकरण दिए । नेता गुरुङले भने, ‘गठबन्धन यथावतै छ । राजनीतिक तरलताको अवस्था छ । गठबन्धनको विकल्पबारे सोचिएको पनि छैन । गठबन्धनकै बैठक बसेको पनि छैन । विकल्प सोच्ने समय भइसकेको छैन । अहिले नै यसबारेका टीकाटिप्पणी गर्नु समयभन्दा अगाडि हुन्छ ।’
प्रचण्डको नेतृत्वमा सरकार बनाउने विकल्प खुला गरेको होइन त भन्ने धमलाको प्रश्नमा महासचिव गुरुङले भने, ‘अहिले वाम गठबन्धनको गणितमात्र हेरेर हुँदैन । एजेन्डाका कुरामा खासै केही उठेको छैन । न्यूनतम साझा कार्यक्रम के हो ? अवधारणाका आधारमा अघि बढ्ने कुरा हो । एजेन्डाबिना गणित र नेतृत्वका विषयमा मात्र कुरा गरेर हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot