१८ मंसिर, काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित नेकपा (एमाले) नेता पद्मा अर्यालले उक्त क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिदै सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएकी छन् ।
आइतबार बिहान सामाजिक सन्जालमा अर्यालले लेखेकी छन्, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’
उनले अगाडी लेखेकी छन्, मैले तपाईंलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन । सबै कुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन्, तिनलाई पूर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवश्यक छन् त्यसका लागि हरदम साथ दिन तयार छु’
गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार निर्वाचित भएका धनराज गुरुङले ३१ हजार ४६६ र पद्मा अर्यालले २५ हजार ८३९ मत पाएका छन् ।