Logo

खगराज अधिकारीलाई धमलाको प्रश्न- प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार हुन्छ ?



काठमाडौं, १९ मंसिर । नेकपा एमालेका नेता एवं कास्की १ (क) का नवनिर्वाचित सांसद खगराज अधिकारीले गण्डकी प्रदेशमा गठबन्धनले सरकार बनाउने स्थितिमा आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।
‘अहिले हामी गण्डकी प्रदेशमा सरकार निर्माणतर्फ अघि बढेका छैनौं । समानुपातिकतर्फको अन्तिम परिणाम पर्खेर बसेका छौं । प्रत्यक्षमा हामीले १२ जितेका छौं, समानुपातिकको ९ सिट जोड्दा २१ सिट मात्र हुन्छ । अहिलेको सत्ता गठबन्धन कायम भयो भने हामी प्रतिपक्षमै बस्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने ।
प्रदेशसभा अनिश्चिय, अनिर्णय र निकासविहीन नरहोस् भन्ने चाहेको पनि उनले बताए । अधिकारीले थपे, ‘अहिलेकै अवस्थामा सरकार निर्माणमा हाम्रो पहल कदमी हुन्न । प्रदेशसभा अनिश्चिय, अनिर्णय र निकासविहीन नरहोस् र छिटै चुनावमा जानु नपरोस् भन्नेमा नै हाम्रो ध्यान जान्छ ।’
वाम सरकार सिद्धान्ततः सही र स्वादिष्ट लागे पनि तत्काल त्यो सम्भावना नदेखिएको पनि अधिकारीले औंल्याए । गठबन्धनभित्र सहमति बन्न नसकेको अवस्था प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अहिले हामी छलफलमै छौं । हामीले बनाएर सरकार बन्ने वा नबन्ने, राजनीतिको कोर्स कसरी अघि जान्छ, त्यसमा नै धेरै कुरा निर्भर हुन्छ । राजनीतिमा लेनादेना त हुन्छ नै । हामी सबै विकल्पमा खुला छौं । तर ठोस रुपमा यसरी छलफल भएको छैन ।’
उनले प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री मान्न तयार हो कि होइन भन्ने प्रश्न पनि गरे । अधिकारीले भने, ‘प्रचण्ड दुई चोटि प्रधानमन्त्री भइसकेको महत्त्वपूर्ण नेता हो । जब ओलीलाई प्रधानमन्त्री मान्न उहाँ पनि तयार हुनुहोला, अनि हामी पनि उहाँलाई मान्न तयार हौंला ।’
नेता अधिकारीले नेपाली कांग्रेस र एमालेबीच पनि सरकार निर्माण हुने सक्ने तर्फ संकेत गरे । उनले थपे, ‘माओवादी र एमाले एउटै पार्टी भएको पनि हो । अब कांग्रेस र एमालेबीच पनि राजनीतिक सहमति हुन सक्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा म मन्त्री थिएँ । गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा केपी शर्मा ओली उपप्रधानमन्त्री हुनुहुुन्थ्यो । कांग्रेस र एमाले मिलेर संविधान बनाएको हो । कांग्रेस र एमाले किन नमिल्ने ? अब निषेधको राजनीति सकियो । तर हामीलाई सरकारमा गइहाल्ने र झन्डा गाडिहाल्ने हतारो छैन ।’

 



प्रतिक्रिया दिनुहोस्