काठमाडौं, १९ मंसिर । दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मत सहित निर्वाचित भएका छन। काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २२ हजार ७ सय ९७ मत पाएका छन् ।
नेकपा एमालेका श्रेष्ठले मत १४ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । बि।स। २०५२ सालको उप—निर्वाचनमा स्व। नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।
दोलखाबाट काफ्लेको निर्बाचित भएसँगै बागमती प्रदेशमा अव बन्ने प्रदेश सरकारमा काफ्लेको मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ । तर, दुवैजना केन्द्रमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्लेलेको पनि चर्चा हुन थालेका हुन् ।
कृष्ण सिटौला र प्रदीप पौडेल निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकठस्त मानिन्छ । सिटौला , पौडेल दुवै जनका साथमा काफ्लेले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।
अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् । केन्द्र सरकारमा गगन थापा , विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले प्रभाव जमाइरहँदा प्रदेशमा काफ्लेको चर्चा चुलिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।