Logo

सडक विस्तारका लागि आफैं घर भत्काउँदै धनगढीका घरधनी



धनगढी, मंसिर २१ । बर्सौंदेखि विस्तार हुन नसकेको धनगढी उपमहानगरपालिको मुख्य सडक चौडा बनाउने कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्रबाट निर्वाचित भएका गोपाल हमालले सडक निर्माणका प्रक्रियालाई अगाडि बढाएका हुन् ।

उपमहानगरले भदौमै सडकको क्षेत्राधिकार भित्रपर्ने संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, स्थानीयले चाडपर्वको मुखमा नभत्काउन अनुरोध गरेपछि दसैँ तथा तिहारमा काम रोकिएको थियो । उपमहानपालिकाले चाडपर्व सकिएलगत्तै कात्तिक १६ बाट धनगढीको मुख्य सडकअन्तर्गत अस्पताल लाइनबाट डोजर लगाउन सुरु गरेको छ ।

कात्तिक १६ देखि धनगढीमा निरन्तर डोजरले घर भत्काउने काम भइरहेको छ । धनगढीमा ४ मंसिरमा भएको निर्वाचनमा पनि काम जारी रह्यो । उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन कार्य तीब्र छ । उपमहानगरले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर सडकको दायाँबायाँ १५–१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा कडाइका साथ लागू गरेपछि धेरै जस्तो घरधनी घर भत्काउन आफैं सक्रिय देखिएका छन् ।

धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको करिब २ हजार ३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको हो ।उपमहानगरले सुरुमा तत्काल रेखाङ्कन गरिएकामध्ये सरकारी स्वामित्वका भौतिक संरचनामा डोजर चलाइएको थियो ।

जग्गाधनीले आफैं खाली नगरे निजी संरचना पनि हटाउने उपमहानगरपालिकाको योजना थियो । तर, केही व्यवसायीले भने सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना आफैंले हटाउन सुरु गरेपछि सडक फराकिलो बनाउन उपमहानगरलाई थप बल मिलेको छ ।

धनगढीको क्याम्पसचोकदेखि भन्सार रोडसम्मको सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण हुने भनिए पनि तत्कालीन समयमा भौतिक संरचना भत्काउनुपर्ने भएकै कारण भारतीय कम्पनीले सर्वे गर्न अस्वीकार गरेको थियो । सर्वे हुन नसकेकै कारण हुलाकी सडक योजना कार्यालय धनगढीले क्याम्पस चोकदेखि भन्सारसम्मको साढे ६ किलोमिटर वाइपास रोड निर्माण गरेको थियो ।

क्याम्पस चोकदेखि कैलाली पुलसम्मको २ किलोमिटर सडक विस्तारका लागि धनगढी उपमहानगरपालिकाले २ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरले सडक चौडा बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै घरधनीले आफ्नो संरचना भत्काउन अभियान तीब्र रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot