काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का नवनिर्वाचित सांसद चन्द्र भण्डारीले आफ्नो विचार समूहमा संसदीय दलको नेतालाई लिएर कुनै विवाद नहुने बताएका छन् ।
‘संसदीय दलको नेता को बन्छ भन्नु व्यक्तिगत बहस हो । अब हामीले मुलुकलाई कसरी अघि बढाउने भन्ने मुद्दाकेन्द्रित बहस गर्नुपर्छ । मुलुकले नयाँ कोर्स खोजेको छ । जनताले कमिटमेन्ट खोजेका छन् । त्यसलाई विचार गरेर हामी अघि बढ्छौं । हामो विचार समूहमा कुनै विवाद हुँदैन । हामी मिलाएर जान्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने ।
अबको संसदीय दलको नेता शेखर कोइराला कि गगन थापा भन्ने प्रश्नमा भण्डारीले भने, ‘समानुपातिकको मतगणना सकिए पनि कोको माननीय बन्ने स्पष्ट रुपमा आएको छैन । दलको नेतालाई लिएर हाम्रो विचार समूहमा कुनै विषय प्रवेश भएको छैन । शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डे आदि जो पनि हुन सक्छ । अहिले कसैको नाम लिने हो भने साथीहरुको अपमान हुन्छ ।’
आफू व्यक्तिगतभन्दा पनि सामूहिक निर्णय गर्नुपर्ने पक्षमा रहेको उनले बताए । भण्डारीले थपे, ‘चुनावका बेला जनतालाई उत्साहित बनाउन भने साथीहरुले म प्रधानमन्त्री बन्छु भन्नुभयो होला । तर अब विचार समूहले जसलाई बनायो, उहाँ नै उम्मेदवार बन्नुहुन्छ । नेता बन्ने नबन्ने भन्ने आफ्नो ठाउँमा छ । त्यो कुरा अहिले नभए भोलि पक्का बन्छ ।’
अबको सरकार देश र जनताको चाहना पूरा गर्न लाग्नुपर्ने उनले औंल्याए । भण्डारीले भने, ‘मुलुक माफियाको हातमा छ । भ्रष्टाचार र बेथिति बढेकाले जनता निराश छन् । त्यसैले कसैको बहुमत आएन । हामीले एउटै नारा भट्टाएको ६० वर्ष भयो । अब कमाउन र लुट्न होइन, मुलुक बनाउने सरकार चाहिन्छ । देशको आवश्यकता के हो ? त्यसलाई विचारेर नेतृत्व चयन गर्नुपर्छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनक म बन्छु भनेर आए कि मुलुकलाई यसरी अघि बढाउँछु भनेर आए । अब पनि विचार गरेनौं भने मुलुक अप्ठ्यारोमा पर्छ ।’