काठमाडौं, २१ मंसिर । अर्थविद् डा. चन्द्रमणि अधिकारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । ‘अहिले जनजीवन अस्तव्यस्त छ । राजस्व घाटा छ । उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सेयर मार्केट ५० प्रतिशतले घटेको छ । दैनिक खर्च चलाउन पनि पैसा नहुने अवस्था छ । मुद्रास्फिति बढ्ने र आर्थिकवृद्धि कम हुने देखिएको छ । यस्तो अवस्थामा कस्तो सरकार आउला र अर्थमन्त्री कस्तो आउला ? विकसित मुलुकमा आर्थिक मन्दी आइसक्यो । त्यसबाट मुलुकले कसरी फाइदा लिन सक्छ ? अब अर्थतन्त्र उकास्ने दूरदर्शी नेतृत्व चाहिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने ।
प्रतिबन्धित वस्तुको आयात खुला गरेर अर्थतन्त्रमा खासै सुधार नहुने पनि उनले औंल्याए । डा. अधिकारीले भने, ‘अहिले के आधारमा आयात खुला भयो ? रक्सी, तास आदि विलासी वस्तुको आयात खोल्नुपर्ने के कारण छ ? राजस्व कम आएर वा व्यापारी व्यवसायीको दबाब थेग्न नसकेर होला । आयातबाट राजस्व उठाउने अभ्यास दिगो हुँदैन । लगानी र खर्च बढाए र आन्तरिक उत्पादन बढाउन सकेको स्थितिमा मात्र अर्थतन्त्र दिगो हुन्छ । यसले राजस्व त बढ्ला तर वैदेशिक मुद्रा खर्च हुन्छ । सापोनापो उस्तै हुन्छ । दीघकालीन समाधान त्यो मात्र होइन ।’
वैदेशिक लगानी, गुणस्तरीय पर्यटक भित्र्याउने र पुँजीगत खर्च बढाउने कार्य गर्नुपर्ने सुझाव पनि उनले दिए । डा. अधिकारीले भने, ‘वैदेशिक सहायता, वैदेशिक लगानी, पर्यटन र विप्रेषण आय हाम्रो अर्थतन्त्रका स्रोत हुन् । अहिले विप्रेषण आयले आधा आयात मात्र धान्छ । विप्रेषणआय ९ खर्ब छ भने आयात १९ खर्बको छ । हाम्रो अर्थतन्त्रको स्रोत नै सुकेको अवस्था छ । ट्यांकीबाट पानी कम खर्च होस् भनेर टुटी सानो पारेर मात्र भएन, पानी थप्ने स्रोतहरु पनि बढाउनुपर्यो । यसलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएजस्तो लाग्दैन ।’