काठमाडौं, २२ मंसिर । कूटनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले भारतसँगको सीमा विवादमा नेपालले प्राथमिकता र निरन्तरता दिएर कूटनीतिक परिपक्वता र चातुर्य देखाउन नसकेको टिप्पणी गरेका छन् ।
‘परिस्थिति झन् झन् असहज हुँदै छ । भारतसँग समझदारी धेरैचोटि हुन्छ तर कार्यान्वयनको साइत जुर्दैन । भारत बैठक नै राख्न तयार हुँदैन । विषयमा प्रवेश गर्न चाहँदैन भने दीर्घकालीन समाधान कसरी हुन्छ ? नेपालले सीमाका विषयमा कूटनीतिक नोट पठाएपछि एकतर्फी रुपमा बाटो बनाउनु भारतको अर्घेल्याइँ हो । नेपाल जस्तो मित्र देशलाई त्यस्तो व्यवहार गर्न मिल्दैन । यसमा नेपाल पक्षको पनि कमजोरी छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले भने ।
फरक प्रसंगमा उनले कांग्रेस र एमालेले गठबन्धन गर्नु गलत भएको टिप्पणी गरे । उपाध्यायले थपे, ‘लोकतन्त्र भनेको नागरिक सर्वोच्चता हो । दलका नेताहरुले हाम्रो निर्णयमा कार्यकर्ता र जनता आउनुपर्छ भन्नु गलत हो । दुवै गठबन्धन असफल हुँदा पनि नेताहरुलाई अलिकति पनि लज्जाबोध छैन । अझै पनि दुवैतर्फ अहंकार टुटेको छैन ।’
अब प्रचण्ड वा शेरबहादुर देउवा को प्रधानमन्त्री बन्नुपर्छ भन्ने धमलाको प्रश्नमा उपाध्यायले भने, ‘प्रधानमन्त्री त शेरबहादुर देउवा नै बन्नुहोला । तर बनेर चाहिँ हुने के त ? देशमा परनिर्भरता र ऋणको भार बढेको बढ्यै छ । युवाहरु विदेश पलायन भएको भयै छन् । यसलाई नबुझे समय चक्रको दण्डमा नेता पनि पर्छन् देश पनि पर्छ ।’