Logo

उपेन्द्र यादव प्रचण्डसँग नजिकिए, जसपाको सत्तारोहणको तयारी !



काठमाडौं, २२ मंसिर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको सक्रियता ह्वात्तै बढेको छ । उनी आफू चुनाव हारेपनि उनको राजनीतिक सक्रियता भने उत्तिकै छ । चुनावको मुखमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका यादव आफू चुनाव हारेपनि पार्टीलाई भने सत्तारोहणको लागि निर्णायक शक्ति बनाउन सफल भएको चर्चा छ ।

जसपाबाट ७ जनाले चुनाव जितेका छन् भने समानुपातिकतर्फ ५ सिट हाँसिल गरेको छ । प्रतिनिधिसभामा १२ सिट प्राप्त गरेको जसपा सरकारमा जाने तयारीमा जुटेको छ । हुन त जसपाका शीर्ष नेताहरुले जसपालाई सरकारमा जाने म्याण्डेट नभएको बताउँछन् । तर, यादवको विराटनगरबाट काठमाडौंको यात्रा हुँदै गर्दा जसपा सरकारमा जाने संकेत प्रवाह भैसकेको थियो ।

यादवले विराटनगर विमानस्थलमै जसपाको एमालेसँगको सहकार्य चुनाव सकिएसँगै समाप्त भएको भन्ने अभिव्यक्ति दिएका थिए । यादवको उक्त अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गरेको छ । संघीय परिषद् अध्यक्ष अशोक राईले यादवको अभिव्यक्ति व्यक्तिगत भएको भन्दै एमालेसँगको सहकार्य निरन्तर अघि बढ्ने अभिव्यक्ति दिए ।

यादव भने पार्टी सरकारमा सहभागी हुनेगरि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन् । यो बीचमा यादवले दाहालसँग दुई पटक एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् । प्रचण्ड पनि यादवको साथ लिने र सरकारमा आफ्नो नेतृत्व दाबी गर्ने तयारीमा छन् । सरकार गठनअघि नै उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने पनि तयारी गरेका छन् ।

माधव नेपाल र उपेन्द्र यादवको साथ लिएर उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग टेबुल टकमा बस्न चाहेका छन् । देउवासँग उनले आलोपालो प्रधानमन्त्रीको सहमति गरिसकेका छन् । तर, दाहाल पहिलो चरणमै आफू प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसको लागि उनले माधव नेपाल र यादवको साथ खोजेका छन् । बरु, माधव नेपाल र यादवका पार्टीलाई राम्रो मन्त्रालय दिनपनि उनी तयार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot