Logo

डेढ हजार विदेशीलाई श्रम स्वीकृति



काठमाडौं, मंसिर २३ । नेपालमा सञ्चालित ठूला परियोजनामा विदेशी नागरिकले काम गर्ने गरेका छन् । विशेष गरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशलाई प्राथमिकता दिने गरेका हुन् ।

नेपालमा जुनसुकै क्षेत्रका दक्ष इन्जिनियर छन् तर विदेशबाट सञ्चालित परियोजनामा तल्लो पदमा नेपालीलाई काम दिए पनि माथिल्लो पदमा आफ्नै देशबाट प्राविधिक जनशक्ति ल्याउने गरेका छन् ।

नेपाल उद्योग परिसङ्घअन्तर्गतको ऊर्जा विकास समितिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नेपालमा विदेशी ठूलो लगानीका परियोजनाको उच्च पदमा विदेशीले नै प्राथमिकता पाउने गरेको बताए । ती परियोजनामा मेसिनरी जडानको काममा सकभर विदेशी प्राविधिक जनशक्ति परिचालन गर्ने गरिएको उनको भनाइ छ ।

उनको अनुभवमा चीनको लगानीमा सञ्चालित परियोजनामा दुई उद्देश्यले आफ्नै देशको जनशक्ति प्रयोग गर्छन् । पहिलो भाषागत रूपमा सहज हुन्छ भने अर्को आफ्नो परियोजनाको पैसा आफ्नै देशमा जाओस् भनेर प्राविधिकदेखि अन्य श्रमिक पनि आफ्नै देशको प्रयोग गर्ने गरेका छन् ।

अध्यक्ष प्रधानले नेपालमा जलविद्युत् क्षेत्रमा आवश्यक पर्ने मेकानिकल, सिभिल, इलेक्ट्रिकल सबै प्रकारका इन्जिनियर प्रयोग हुने र ती जनशक्ति पर्याप्त भएको जानकारी दिए ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी रहेका छन् ।

विभागका अनुसार विभाग २०७९ वैशाखदेखि कात्तिकसम्म (सात महिना)मा एक हजार ५१४ जना विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति) लिएका छन् ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा नयाँ र नवीकरण गरेर ६७१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सो अवधिमा नवीकरण र नयाँ गरी ७२० विदेशीले श्रम स्वीकृति लिएका थिए । यो हेर्दा गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४९ जनाले घटेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्