काठमाडौं, मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले दिएको निलम्बन फुकुवा विरुद्धको रिटमा खाजा खाने समय अघि नै सकाउने गरी तयारी गरिएको छ ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रारम्भिक बहस सुरु गरेका छन् । भट्रराईसहित नेपाल बार एशोसिएसनका गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र शम्भु थापाले रिटमा बहस गर्ने जनाइएको छ।
प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटको संवैधानिक इजलास गठन भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा इजलासमा छन् ।
जबरामाथि महाभियोग निष्क्रियविरुद्ध सर्वोच्च बारका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यले रिट दायर गरेका थिए ।
संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र दिएपछि जबरा सर्वोच्च फर्किन खोजिरहेका छन् ।
यता नेपाल बार एशोसिएशनले जबरालाई सर्वोच्च अदालत प्रवेश रोक्न आजपनि धर्ना दिने भएको छ । बारले अदालत परिसरमा अहिले केहिबरेमा धर्ना सुरु गर्न लागेको हो ।