काठमाडौँ,२३ मँसिर । मोरङका राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीले समाजमा लैङ्गिक समानता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको राजनीतिक सहभागिताबारे अन्तरक्रियामा दलका नेता र जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ का सदस्य विराज घिमिरेले घरदेखि दलसम्म महिलालाई नेतृत्वमा अवसर दिनसके मात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकाले आफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाले सफलरुपमा नेतृत्व निर्वाह गर्न सक्ने उदाहरण रहेको हुँदा उहाँहरुलाई घर र दल दुवैमा अवसर दिन आफूहरु तयार रहेका छौँ भन्नुभयो । जनता समाजवादी पार्टी मोरङका नेता राधे कामतले महिलालाई नेतृत्व दिन सबै राजनीतिक दलले प्रतिबद्धता मात्र होइन कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गा खरेलले लैङ्गिक समानता ल्याउन महिलाले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषले पनि अग्रसर भएर उहाँहरुका हक अधिकारका लागि लड्नुपर्ने बताउनुभयो ।
सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंले पनि राजनीतिक दलले सोचमा परिवर्तन नगर्दा महिलाको अवसर कुण्ठित भइरहेको विचार राख्नुभयो । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाले नेतृत्वमा अर्थपूर्ण सहभागिता पाएमात्र समाजमा लैङ्गिक समानता आउछ भन्नुभयो ।
बेलबारी नगरपालिका प्रमुख डिपी राई, रङ्गेली नगरपालिका उपप्रमुख झुमा पराजुली, केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र दलित महिला केन्द्रकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियार लगायतले राजनीतिक नेतृत्व सबल नभएसम्म समाजमा लैङ्गिक समानता आउन नसक्ने भएकाले जनप्रतिनिधि, दलका नेता र महिलाका लागि निरन्तर क्षमता अभिवृद्धि र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।रासस