Logo

‘शैक्षिक गुणस्तरमा रुपन्देहीको स्थान उच्च’



काठमाडौँ,२३ मँसिर । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक शैक्षिक संस्थाको गुणस्तरले रुपन्देहीको स्थान उच्च रहेको बताएका छन् ।

बुटवल कालिका सामुदायिक क्याम्पसको आज आयाजित नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले कालिका देशकै नमूना शैक्षिक संस्था हुनुको गौरव सबै जिल्लावासीलाई भएको उल्लेख गरे ।

बुटवलसहित सिङ्गो रुपन्देहीलाई सबै दृष्टिकोणले नमूना बनाउन सबैको साझा प्रयत्न रहेको उनको भनाइ छ । “हामी कुनै जाति, दल र वर्गका आधारमा विभाजित छैनौँ । यही भावनाका साथ देशकै नमूना जिल्ला बनाउने प्रयत्नमा लागेका छौँ”, पूर्वअर्थमन्त्री पौडेलले भने ।

सो अवसरमा पूर्वअर्थमन्त्री पौडेलले रु १४ करोड ९० लाख बराबरको लागतमा निर्माण भएको क्याम्पसको पाँच तले भवनको समेत उद्घाटन गरे ।
प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्यका दृष्टिले बुटवलले प्रगति हासिल गर्दै गएको बताए । सबैको सहयोग र सहकार्यमा शैक्षिक विकास सम्भव भएको उनको भनाइ छ ।

क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अर्जुनमान सैजुले नेपालमै सामुदायिक क्याम्पसमध्ये कालिकाले सतप्रतिशत नतिजा दिन सफल भएको बताए ।

क्याम्पस प्रमुख घनश्याम पाठकले २०७० देखि ३५ विद्यार्थीबाट उच्च शिक्षा सुरुआत गरेको क्याम्पसमा दुई हजार नौ सय ५५ विद्यार्थी सहभागी रहेको जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्