Logo

चुनाव कसरी हारियो भन्ने विषयमा म आफैं पनि छक्क परेको छुः महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता गठबन्धनले मुख्य लक्ष्य गरेको उम्मेदवार भएकाले आफ्नो पराजय भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलाले केपी ओलीको विश्वासपात्रले चुनाव हार्दा जनता छक्क परिरहेका छन् नि भन्ने प्रश्न गर्दा बस्नेतले भने, ‘म आफैं पनि छक्क परेको छु, कसरी चुनाव हारियो भन्ने विषयमा । सत्ता गठबन्धनसँग चुनाव लडिरहँदा ममाथि जुन तहमा आक्रमण हुन्छ भन्ने अनुमान गरेको थिएँ, त्योभन्दा बढी नै भएको अनुभव गरें । म सत्ता गठबन्धनले मुख्य लक्ष्य गरेका उम्मेदवारहरुमध्येमा परें ।’

तपाईंको हार त लाजमर्दो भयो नि भन्ने अर्को प्रश्नमा बस्नेतले थपे, ‘त्यसो त नभनौं । अस्वाभाविक हार चाहिँ हो । भक्तपुर २ मा एमालेले प्रत्यक्षमा अपेक्षाकृत मत ल्याएन, तर समानुपातिकमा भोट बढी नै छ । । हारजित एउटा प्रक्रिया भयो । राजनीति मैले जितेको छु । जनतालाई महेश बस्नेत हारेको अनुभूति एकदुई महिनामै हुन्छ, पछुतो पनि हुन्छ । विजेताले मैले गरेको १० भागको एक भाग काम गर्नुभयो भने पनि राम्रै हुन्छ ।’ भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले बस्नेतलाई हराएका थिए ।

वामपन्थी मिलेर सरकार चलाउनुपर्छ भन्ने जनमतलाई माधव नेपाल र प्रचण्डले बुझ्नुपर्ने पनि उनले औंल्याए । बस्नेतले थपे, ‘प्रारम्भिक चरणमा प्रधानमन्त्री हुन शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालको रस्साकसी छ । कांग्रेसले माओवादीलाई, माओवादीले कांग्रेसलाई प्रारम्भिक चरणमा नस्वीकार्ने स्थितिमा सरकार निर्माण जटिल बनेको छ । गठबन्धन नगरेको भए कांग्रेस पत्तासाफ हुने रहेछ । उसले एमाले विभाजनको फाइदा उठायो । वामपन्थी मिलेर सरकार चलाउनुपर्छ भन्ने जनमतलाई अब नेताहरुले बुझ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्