Logo

जनमत नयाँ, शैली पुरानैः सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी



काठमाडौं, मंसिर २६। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेका छन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सात दलले निर्वाचन आयोगलाई १ सय १० सांसदको नाम बुझाइसकेका छन् । आयोगले आफ्नो प्रक्रिया पूरा गरेपछि उनीहरू निर्वाचित भएको घोषणा गर्छ ।

सबै दलले प्राप्त गरेको मतका आधारमा हेर्दा वर्तमान सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ । त्यसैले सरकार गठनका लागि दलैपिच्छेका सर्तसमेत सुरु भइसकेको छ ।

प्रदेशसभामा सातै प्रदेशमा गरी प्रत्यक्षतर्फ ३ सय ३० सांसद चयन भइसकेका छन् भने समानुपातिकतर्फबाट २ सय २० जना चयन भएर निर्वाचित हुने प्रक्रियामा छन् । योसँगै प्रतिनिधि र प्रदेशसभामा जमतबाट सांसद चयन हुने एउटा महत्वपूर्ण प्रक्रियाको समापन भइसकेको छ ।

सबैगरी प्रतिनिधिसभामा २ सय ७५ जना अनुहार निर्वाचित हुनेछन् । प्रदेश सभामा सातै प्रदेशमा गरी ५ सय ५० जना सांसद चयन हुनेछन् । प्रदेश र प्रतिनिधिसभामा गरी ८ सय २५ जना सांसद पाँचवर्षे कार्यकालका लागि जनताको प्रतिनिधिका रूपमा केन्द्र र प्रदेशमा रहनेछन् ।

तर, सरकार गठनको अलमल र खिचातानी भने निर्वाचनअघिकै जस्तो छ । प्रतिनिधि सभामा कुनै एक दलको बहुमत नपुग्दा सरकार गठनको प्रक्रिया सजिलो छैन । सातै प्रदेशमा पनि प्राप्त परिणामले कुनै पनि एक दललाई सरकार बनाउन सुविधा दिएको छैन ।

संघीय सरकार गठनका लागि प्रत्यक्षतर्फको निर्वाचन परिणाम आएदेखि नै दलहरूको सक्रियता बढेको छ । हालकै सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेको दल नेकपा एमाले मौका मिलेमा सत्ताको दाउ छोप्ने प्रयासमा छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन् भने निर्वाचनको मुखैमा लोकतान्त्रिक समाजवादी पार्टी पनि तालमेलको नाममा जोडिएको थियो ।

यसैगरी, अर्को विपक्षी गठबन्धनमा नेकपा (एमाले)सहित, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको भनिएको थियो ।

निर्वाचनपछिको हालसम्मको अवस्थामा आइपुग्दा जसपाले भने विपक्षी गठबन्धन चुनावका लागि मात्रै भएको र अब सो गठबन्धनको औचित्य सकिएको बताइसकेको छ । सो दलका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि विराटनगरबाट सोबारे मुख खोलेका थिए ।

यसैले सरकार बनाउन दुबै गठबन्धनलाई अन्य दलको सहयोगको खाँचो छ । सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्