काठमाडौं, २६ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले समानुपातिक सांसद बनाउँदा लोकतन्त्रको खिल्ली उडाइएको आरोप लगाएका छन् ।
‘समानुपातिक सांसद त पिछडिएको वर्गका लागि हो । आवाजविहीनहरुका लागि हो । तर समानुपातिकको नाममा श्रीमती, भाइभतिजा टन्नै भरिएको छ । विमलेन्द्र निधि, आरजु राणा र मञ्जु खाँडलाई सांसद बनाएर लोकतन्त्रको खिल्ली उडाइएको छ । यो भ्रष्टाचार नै हो । यस्तो त अब चल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने ।
शेरबहादुर देउवा आफू संसदीय दलको नेता हुन जे पनि गर्ने हदमा पुगेको पनि उनले टिप्पणी गरे । डा. दीक्षितले भने, ‘देउवाले संसदीय दलको नेता हुन यिनलाई भरेका हुन् । अब कांग्रेसमा अरुको चान्सै हुँदैन । समानुपातिकबाट देखिइसक्यो । उनी नै नेता हुन् ।’
उनले गगन थापालाई शेखर कोइरालाले पनि धोका दिन लागेको आरोप लगाए । उनले थपे, जनताको चाहना स्वतन्त्र र युवा आऊ भन्ने हो । गन्हाएको सिनो फेरि नआऊ भनेको जनादेश थियो । तर त्यसलाई देउवाले लत्याए । उही देउवा, उही प्रचण्ड, उही माधव नेपाल मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो । मुलुकले देउवालाई खोजेको होइन । शेखर कोइरालाले गगनलाई निसर्त समर्थन गर्नुपथ्र्यो नि । गगन आए चान्स छैन भन्ने बुझेर शेखर, शशांकले चाल खेले । शेखरले युवालाई धोका दिएको छ ।’
रेशम चौधरीको मुद्दामा राजनीतीकरण गर्न नहुने पनि डा. दीक्षितले औंल्याए । उनले भने, ‘रेशम चौधरीको मुद्दामा कोर्टलाई फैसला गर्न दिऊँ । रेशम ठीक वा बेठीक भनेर राजनीति नगरौं । माफी मिनाहा दिएर उसको पनि दाग मेटिँदैन । पुलिसको निर्मम र जघन्य हत्या भएको छ । राजनीतिक गन्ध आयो । रेशमलाई दोषी म भन्दिनँ । तर मारिएका प्रहरीका परिवारका तर्फबाट पनि हेरौं न । उनीहरुको राजनीतिक भ्वाइस छैन । उनीहरुको पनि सुनुवाइ होस् न । गठबन्धन सरकारले आफ्नो दुनो सोझ्याउनु भएन ।’