Logo

दोबिल्ला पुल मर्मत गरिँदै



काठमाडौँ,२६ मँसिर । जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ ।

लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ ।

सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका छवटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार सवै पक्षको छलफलवाट पुल मर्मतका लागि मङ्सिर २८ गतेदेखि पुस १९ गतेसम्म सडक बन्द गरिने भएको छ । उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट पुल निर्माण थालिएको हो । विसं २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । पुलमा बिछ्याइएका फलामे पाताको बढीमा पाँच वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताए।

उनका अनुसार दैनिक सयभन्दा धेरै सवारी ओहोरदोहोर गर्ने पुलमा दैनिकजसो सवारी फस्ने र दुर्घटना हुनेजस्ता जोखिम बढेका छन् । दुवैतर्फ फलामका लठ्ठा तानेर बनाइएको पुलको भुईँमा फलामका पाता राखिएको छ । क्षमताभन्दा बढी भार भएका सवारीका कारण पाता धस्सिएका छन् । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता रहेको छ ।

पुल मर्मतसँगै सोही स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययनसमेत भएको छ । सडक विभागले लामो दबाबपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्ने गरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले अघिल्लो सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए ।

“जीर्ण पुलको विषयमा गम्भीरताका साथ कुरा राखिएको थियो”, फलेवास नगरप्रमुख गङ्गाधर तिवारीले भने, “सम्भाव्यता अध्ययन भएको छ । चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको छ ।” पुरानो पुलको उत्तरतर्फसँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot