काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले वर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताका सदाबहार सौदागारको संज्ञा दिएका छन् । उनले देउवामा सत्तामा पुग्ने विशेषज्ञता पनि रहेको उल्लेख गरेका छन् ।
रेशम चौधरीलाई रिहा गर्नको लागि अध्यादेश ल्याएपछि रिजालले देउवाको आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्-
“इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ । माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?” file photo