काठमाडौ, २६ मंसिर । बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले पार्टीले कारबाही फिर्ता गरे आफू कांग्रेसमा नै फर्कन तयार रहेको खुलासा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । मेयर क्षेत्रीले आफूलाई कांग्रेसले नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको र जनताले जिताएको स्पष्ट पारे ।
उनले आफूले कार्यकाल सम्हालेको ८ महिना पुग्न लागेको सुनाउँदै नगरको विकासमा ठूलो योगदान पुर्याएको पनि दाबी गरेका छन् । नगरभित्र अहिले सडक पिच बनाएकोदेखि शिक्षा र स्वास्थ्यमा पनि टेवा पुर्याएको उनको दाबी छ ।
उनले भने–‘म पहिल्यैदेखि कांग्रेसमा आस्था राख्ने व्यक्ति हुँ । नेपाली कांग्रेसले मलाई टिकट दिएरपनि खोसिएपछि म फेरि स्वतन्त्र भएर चुनाव लडेको थिएँ । स्वतन्त्रबाट लडेर हामी निर्वाचित भयौं ।’
त्यस्तै मेयर क्षेत्रीले आफूहरुमाथि पार्टीबाट लगाइएको आरोप र कारबाही फुकुवा भए मूलघरमा फर्किने बताए । उनले आफूले कारबाही फिर्ता गरेको भए मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावमा गठबन्धनलाई सहयोग गर्ने मुड बनाएको पनि खुलाए । उनले भने–‘यो चुनावमा हामीलाई कारबाही फुकुवा हुन्छ भनिएको थियो, तर हाम्रो कारबाही फुकुवा भएन । त्यसैले हामीले हाम्रो स्ट्याण्ड लिनका निम्ति स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हौं ।’
उनले राजनीतिमा कहिल्यैपनि स्थायी मित्र र स्थायी शत्रु पनि नहुने उल्लेख गरे । उनले आफूहरु गठबन्धनको विरोधी भएको पनि सुनाए । उनले भने,‘भोलि गठबन्धन टुट्यो भने कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता राख्ने की नराख्ने ?’ उनले आफूले कांग्रेसलाई हराउन षड्यन्त्र नगरेको पनि दाबी गरे ।