काठमाडौं, २७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले रेशम चौधरीलाई छुटाउने अध्यादेशको विरोध गर्नुको तुक नभएको बताएका छन् ।
‘रेशम चौधरी निर्दोष छन् । तर दुई तहको अदालतबाट उनको विपक्षमा फैसला भएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । उनलाई प्रतिशोधात्मक रुपमा जबर्जस्ती आपराधिक मुद्दा बनाउन खोजिएको छ । घटना हुने बेला रेशम बर्दियामा छन्, कैलालीमा घटना भएको छ । रेशम चौधरीलाई छुटाउनु लोकतन्त्रको उपहास होइन, जेलमा राखिरहनु चाहिँ लोकतन्त्रको उपहास हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने ।
केही चटके नेताहरु अध्यादेशको विरोधमा लागेको आरोप पनि उनले लगाए । झाले भने, ‘रेशम चौधरी छुटाउने अध्यादेशको विरोध नयाँ रोग होइन, पुरानै हो । उत्पीडित जातजाति, क्षेत्र र समुदायलाई राहत दिने कामको विरोध उग्र राष्ट्रवादीबाट सदैव हुने गरेकै छ । केही चटके नेताहरुलाई आम नागरिकको समानता, न्यायको मतलब छैन । युवा भनाउँदा तर परम्परावादी चिन्तन, संकीर्ण सोच राख्ने नेताहरु हल्लाको पछाडि लागेका छन् । यो पहिलेदेखि हुँदै आएको अभ्यासको निरन्तरता हो ।’
उनले राष्ट्रिय मानवअधिकार आयोगको गतिविधि शंकास्पद भएको पनि बताए । झाले थपे, ‘अरु घटनामा चाइँचुइँ नबोल्ने मानवअधिकार आयोगको गतिवधि शंकास्पद छ । अध्यादेश काम चलाउ सरकार र हाउस नभएको बेला त आउने हो नि । प्रचण्ड, केपी ओलीलाई हत्याको आरोप छैन ? एउटा नश्लका लागि कानुन बाधक नहुने, अर्को नश्लका लागि कानुन बाधक हुने ?’
राष्ट्रपतिले अध्यादेश जारी नगरे के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा झाले भने, ‘राष्ट्रपतिले अहिलेसम्म धेरै नचाहिने काम गर्नुभएको छ । उहाँ विभेदकारी हुुनुहन्छ । दुवै सदनले पास गरेको नागरिकता विधेयक पनि प्रमाणीकरण गर्नुभएन । उहाँबाट हामीले केही आशा गरेकै छैनौं । अन्तिममा जाने बेलामा लोकतन्त्र, गणतन्त्रको प्रतिष्ठा जोगाउन चाहनुहुन्छ कि ठूलो कलंक लिएर जानुहुन्छ, हामीले हेर्ने कुरा हुन्छ ।’
उनले रवि लामिछानेलाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको पनि जिकिर गरे । झाले भने, ‘रवि यो देशको नागरिक होइन, उसलाई राजनीति गर्ने अधिकार नै छैन । उसको केको नयाँ शक्ति ? नयाँ प्रधानमन्त्री हुनेवाला छ र ? ऊ अलोकतान्त्रिक र अनैतिक व्यक्ति हो । केही ज्ञान छैन । पूरै देशको विषयमा बोल्न सक्दैन । एउटा जातको मात्र कुरा गर्ने पनि नेता हुन्छ ?’