Logo

गगनलक्षित प्रकाण्डको टिप्पणी :यस्ता बुद्धिले प्रधानमन्त्री भइन्छ ? (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोली बन्द गर्न चेतावनी पनि दिएका छन् । विश्वकर्माले भने, ‘ओलीजीले कार्यान्वयन गर्नुपर्नेमा देउवाको पालामा आएर भयो । सरकार त उत्तराधिकार हो नि । देउवा सरकारले कहाँ मिस्टेक गर्‍यो त ? यस्तो जटिलताको बीचमा पनि देउवाजीले इमानदारीपूर्वक देशको समस्याको निकास दिऊँ भन्दा रातारात कराउँछन् केही मान्छे । गगनजी, बोल्न बन्द गर्नु होला । पहिले तपाईंले रेशम चौधरी छुटाउनुपर्छ भनेको होइन ? दिमाग त ठीक ठाउँमा छैन ? अहिले कसको कुरा बोकेर आउनुभयो ? यस्ता बुद्धिले प्रधानमन्त्री भइन्छ ?’

उनले कामचलाउ सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका छन् । ‘हामीले २२–२३ महिनाअघि तत्कालीन केपी शर्मा ओलीको सरकारसँग तीनबुँदे सहमति गरेका हौं । तर त्यो सहमति ओलीको पालामा कार्यान्वयन भएन । हामीले १५–१६ महिनासम्म शेरबहादुर देउवाको सरकारसँग वार्ता, संवाद र छलफल जारी राख्यौं । अहिले बल्ल अध्यादेश बनेर आएको छ । यो कसैका लागि लक्षित गरेर ल्याइएको होइन । अध्यादेश ल्याउँदा कसैलाई फाइदा हुनु बेग्लै कुरा हो । हामीले सरकारलाई धन्यवाद दिएका छौं, अध्यादेशको स्वागत गरेका छौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले भने ।

हत्या, हिंसा गर्नेलाई छुटाउने षडयन्त्र भएको भन्ने आरोपको उनले खण्डन गरे । विश्वकर्माले भने, ‘यो सोह्रै आना गलत हो । यसले विषयलाई ट्वीस्ट गरेको छ । जसलाई लोकतन्त्र थाहा छैन, उसले बढी बोल्न मिल्दैन । कानुनको कुरा आफ्नो ठाउँमा होला, तर कानुनलाई प्राक्टिसमा लाने त पोलिटिक्सले हो नि । मानवअधिकार आयोगले जनविरोधी कुरा गर्न मिल्छ ? संघर्षका विविध रुप हुन्छन् । वम विष्फोट जनताको विरुद्ध थिएन, राष्ट्रघातीविरुद्ध थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot