काठमाडौं, २९ मंसिर । चुनावी अन्तिम नतिजा सार्वनिक भएसँगै यतिबेला दलहरु नयाँ सरकारको गृहकार्यमा छन् । केन्द्रसहित सातवटै प्रदेशमा नयाँ सरकार गठनका लागि प्रयास भइरहँदा दाबेदारहरुले आ(आफ्नो पक्षमा लबिङ तीव्र बनाउँदै आएका छन् ।
मधेश प्रदेशमा पनि मुख्यमन्त्रीको लागि दर्जनौं आकांक्षी छन् । कुनैपनि पार्टीको एकल बहुमत नभएको अवस्थामा मिलिजुली सरकारको विकल्प नहुँदा सबै दलहरुले समेत नेतृत्वको प्रयास अघि बढाइरहेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलहको रुपमा नेपाली काँग्रेसलाई मधेशको नेतृत्व लिनैपर्ने बाध्यता छ ।
विगत ५ वर्ष जसपाको नेतृत्वमा बनेको सरकारको उत्तर्राद्धमा मात्रै काँग्रेसले प्रवेश पायो । चुनाव हुनुअघि जसपा गठबन्धनबाट बाहिरिएसँगै काँग्रेसले सरकार छोड्नुपर्यो । काँग्रेस जनमतको प्रमुख आधार भएको मधेशको विकास र जनअपेक्षालाई संबोधन गर्न मधेश प्रदेशमा कुनैपनि हालतमा काँग्रेसकै नेतृत्व हुनुपर्नेमा शीर्ष नेतृत्वमा एकमत छ ।
अहिले काँग्रेसबाट मधेश प्रदेशको संसदीय दलको नेताका लागि पार्टी सभापति कृष्णप्रसाद यादव, नेता रामसरोज यादव तथा अर्का नेता जनार्दन सिंह क्षेत्री दाबेदारीमा छन् । उनीहरुमध्ये कृष्ण यादबलाई पार्टीबाट सर्वसम्मत रुपमा संसदीय दलको नेता छान्ने प्रयास सुरु भएको छ ।
नेपाली काँग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ता भने यतिबेला कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने लबिङमा छन् । यसका लागि उनले काठमाडौंमा भेटवार्तालाई तीव्र बनाएका छन् ।
नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई प्रदेशको तर्फबाट शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रीय प्रवक्ता प्रकाशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, युवा नेता रामहरि खतिवडा बधाई एवम शुभकामना दिदै विभिन्न नेता ज्यु लगायतसँग भेटवार्ता गरिसकेका छन् ।
विभिन्न नेतालाई कांग्रेस मधेस प्रदेश भेटका भएका क्रममा आफूले प्रदेश सभापतिको रुपमा संसदीय दलको नेतृत्व यादवले नै पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको बताए ।
‘एकाध अवस्थामा बाहेक काँग्रेसको अभ्यास पार्टी र संसदीय दलको नेता एउटै हुने खालको छ । यसो हुँदा संसद सरकार र पार्टी सञ्चालनमा सजिलो हुन्छ, नेतृत्व फरक हुँदा द्वन्द्व बढ्ने र चाहेअनुसार काम हुन सक्दैन,’ गुप्ता भन्छन्, ‘त्यसैले सभापतिज्यूकै नेतृत्वमा संसदीय दल गठन गर्नुपर्नेमा केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएको छु ।
त्यसो त पार्टीभित्रैका आकांक्षीसँग समेत सर्वसम्मत रुपमा नेता चयनको लागि छलफल असिघ बढेको उनी बताउँछन् । गुप्ता भन्छन्, ‘हामीले मधेशमा प्रभावशाली नेता जनार्दन सिंहसँग भेटवार्ता गरिसकेका छौं, विभिन्न पार्टी नेताहरु सँग पनि छलफल गर्छौं । पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानेगरी सहमतिमा अघि बढ्नेबारे छलफल अघि बढाएका छौं ।’ मधेस प्रदेशमा ५ वर्ष रणनीतिक सहित कार्यनीति बनाउने गुप्ताले बताए ।