पर्सा, पुस १ । छिमेकी राष्ट्र भारतको विहारमा आईतबार हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ ।
विहारमा हुने प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त भारतीय पक्षले विहिबार दिउँसोदेखि नै पर्सासँग जोडिएको नेपाल–भारत नाका बन्द गरेको हो । विहारसँग जोडिएका वीरगञ्ज–रक्सौल नाका पूर्व सूचना बिनानै भारतीय प्रशासनले एकतर्फी रुपमा सिल गर्दा नेपालबाट बाहिरिने स्थानीयहरुलाई सास्ती भएको छ ।
सवारीसाधन ओहोरदोहर नहुँदा दुवैतर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि रोकिएका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको बताए । उनले आइतबार निर्वाचन सम्पन्न भएपछि मात्र नाका खोलिने जानकारी दिए ।
‘हामीलाई कुनै सूचनानै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा दिउँसोदेखि अचानक रोक लगायो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर सिल हुने भनेर सूचना प्राप्त गर्यौं । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं ।’