Logo

शेखर दलको नेतामा अघि बढे, गगनपनि भिड्ने



काठमाडौं, १ पुष । नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुटेका छन् । सो समूहबाट यसअघि नै महामन्त्री गगनकुमार थापाले दलको नेतामा उठने घोषणा गरिसकेका छन् । तर, कोइरालाले थापालाई सघाउनेबारे केही बोलेका थिएनन् ।

पछिल्लो समय आफूनिकट नेताहरुसँगको सघन छलफलपछि कोइराला दलको नेताको लागि आँफै मैदानमा उत्रिने तयारीका साथ अघि बढेका छन् । यता, थापाले भने आफूले दलको नेतामा उठ्ने भनेर चुनावअघि नै घोषणा गरेकोले कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् ।

संस्थापनइतर समूह भनेर चिनिने कोइराला थापा समूहबाट नै दलको नेतामा दुई जनाको उम्मेदवारी पर्ने निश्चित् भएपछि सो समूहका नेताहरु यतिवेला चिन्तामा छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा उठ्ने छन् । देउवा दलको नेता बन्नेमा ढुक्क छन् ।

कोइराला पक्षका प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पनि दलको नेतामा देउवाले नै जित्ने घोषणा गरिसकेका छन् । अधिकांश सांसद देउवानिकट भएकोले पनि दलको नेता बन्न उनलाई सहज हुने अनुमान छ ।

कोइराला पक्षमा भने दलको नेतामा साझा उम्मेदवार पनि नहुने भएपछि अब यो समूह अस्तित्वमा रहनेबारे पनि प्रश्न उठ्न थालेको छ । योबीचमा थापाले कोइरालासँग एक्लाएक्लै भेटवार्ता गरेर दलको नेतामा आफूलाई सघाउन आग्रह गरेका थिए ।

तर, थापाको प्रस्तावबारे कोइरालाले कुनै जवाफ दिएका थिएनन् । कोइराला आँफैले भने अब थापासँग भेटेर सहयोग माग्ने तयारी गरेको स्रोतको दाबी छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्