काठमाडौं, १ पुष । कृषि तथा पशू क्षेत्रको विकास, प्रवद्र्धन र रूपान्तरण गरी देशलाई आर्थिक रुपमा समृद्ध बनाउन अहोरात्र खट्ने पारा–भेटेनेरियनहरुको साझा संस्था नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसिएसनको केन्द्रिय कार्यालय निर्माण अभियान सुरु भएको छ ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एसोसिएसनले आज एक कार्यक्रम गर्दै केन्द्रिय कार्यालय भवन निर्माण गर्न ‘दश हजार अभियान’ सुरु गरेको हो । उक्त अभियानअन्तर्गत प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले दश हजार रुपैयाँ सहयोग गरेर अभियानको सुरूवात गरेका हुन् ।
अभियान सुरु गर्दै धमलाले सबैलाई कृषि क्षेत्रमा लाग्न अग्रहसमेत गरेका छन् । नेपाल कृषिप्रदान देश भएकाले सबैले कृषिलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
धमलाले मुलुकमा कृषि क्रान्तिको लागि तत्काल पहल लिनुपर्नेमा जोड दिए । उनले कृषकका उत्पादनलाई उचित बजारको व्यवस्थापन गर्नुपर्ने बताए । उनले भेटेनरी चिकित्सकले पनि कृषि क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । उनले नेपाल मासुमाजस्तै फलफूल तथा तरकारीमा पनि आत्मनिर्भर हुनुपर्ने र यसको लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
त्यस्तै, एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले किसानसँग जोडिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए । उक्त क्षेत्रमा काम गर्ने प्राविधिकहरुलाई व्यवस्थित् गर्ने र कानुनसम्मत् बनाउने उद्देश्यले भवन निर्माण अभियान सुरू गरेको मेहताको भनाई छ ।
नेपालमा प्रजातन्त्रको पुनस्थापनासँगै २०४७ सालमा उक्त एसोसिएसनको स्थापना भएको हो । एसोसिएसनले काठमाडौंमात्र नभई विभिन्न जिल्लाका सदस्यहरुसँग समन्वय गरी भवन निर्माण गर्न लागेको हो ।