Logo

सरकार गठनका लागि राजनीतिक दलहरू बहुपक्षीय छलफलमा



काठमाडौं, पुस २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पारेका छन् । त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट र परामर्श गरिरहेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा जुटेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले भने, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको छ । उहाँ परामर्श गर्दै हुनुहुन्छ । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्छ ।”

प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु(याउन आह्वान गर्ने सम्भावना रहेको बताए । यसको तयारी भइरहेको उनको भनाई छ । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्