Logo

सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दै



काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का पुर्‍याउँदो रहेछ। त्यसको एउटा उदाहरण हो, लमजुङ ।

मध्य नेपालको सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दैछ । समृद्धिका धेरै कुरा उक्त जिल्लाले गुमाउँदैछ । पृथ्वी राजमार्गबाट डुम्रे हुँदै लमजुङको बेंसीसहरसम्मको दुरी धेरै लामो छैन । ४२ किलोमिटर यात्रा गर्न सडक राम्रो भए एक घन्टा खर्चिए पुग्छ तर अहिले भने सडकको दुरवस्थाले यात्रुले तीन घन्टा खर्चिनुपर्छ । ज्यानको जोखिम मोल्दै यात्रा गर्नुपर्दा यात्रु र पर्यटकले दुःख पाइरहेका छन् ।

सडक सुधार र विस्तार यहाँका जनप्रतिनिधिको पहल र प्राथमिकतामा नपर्दा विकासका सम्भावना रहेको लमजुङले समृद्ध हुने अवसर गुमाउँदैछ । झन्डै दुई दशकअगाडि सदरमुकाम बेंसीसहरलाई सडक सञ्जालले जोडे पनि यहाँका बासिन्दा जिल्ला दुर्गम बन्दै गएको अनुभव गर्दैछन् । यो खण्ड भएर यात्रा गर्ने यात्रु र पर्यटकले सडकको दुरवस्थालाई लिएर गुनासो गर्ने गरेको सुनिन्छ ।

वार्षिक ३० हजार पर्यटक यो सडक हुँदै अन्नपूर्ण पदयात्रा गर्छन् । यता बेंसीसहर हुँदै मनाङसम्मको ६५ किलोमिटर सडक यात्रा गर्दै सयौं पर्यटक ट्रेकिङ र हिमालको दृश्यावलोकन गर्न पुग्छन् । डुम्रे बेंसीसहर सडक मनाङको चामेसम्म पुग्ने हुँदा विदेशी पर्यटकसमेत बाक्लै आउजाउ गरिहन्छन् । डुम्रेदेखि बेंसीसहरको खण्ड जति जीर्ण छ, त्योभन्दा बढी जीर्ण मनाङ पुग्ने सडक छ ।

तर छोटो दुरीको यात्रा गर्न पनि लामो समय खर्चिनुपर्ने र ज्यानकै जोखिम सहेर यात्रा गर्नुपर्ने यात्रु र पर्यटकको गुनासो बढ्दो छ । डुम्रे–बेंसीसहर ४२ किलोमिटरमध्ये २४ किलोमिटर सडकखण्ड तनहुँ जिल्लामा पर्छ । तर तनहुँका जनप्रतिनिधिहरूले उक्त सडक स्तरोन्नतिका लागि कुनै चासो दिएको देखिन्न । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot