Logo

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू



काठमाडौं, पुस २ । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ। प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो। प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा सम्पन्न भएपछि निर्वाचन आयोगले बुधबार संसद् सचिवालयमा अन्तिम परिणामको पत्र पठाएको छ।

संविधानको धारा ९१ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने छ भन्ने व्यवस्था छ। यस आधारमा संसद् सचिवालयले उनीहरूको उमेर यकिन गरेर सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने व्यवस्था मिलाउनु पर्दछ। ज्येष्ठ सदस्यले शपथ ग्रहण गरेपछि सबै सांसद सदस्यले ज्येष्ठ सदस्यसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने हुन्छ।

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था मिलाउनुपर्ने हुँदा संसद् सचिवालय यसको तयारीमा लागेको सचिवालयका अधिकारीको भनाइ छ। अहिले प्रतिनिधिसभामा निर्वाचित भएर आएकामध्ये राप्रपाबाट समानुपातिक निर्वाचित पशुपतिशमशेर जबरा ८१ वर्ष, लोकतान्त्रिक समाजवादीबाट महोत्तरी ३ बाट निर्वाचित महन्थ ठाकुर ८० वर्ष, बागलुङ १ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी ८० वर्ष र जनता समाजवादी पार्टीका महिन्द्र राय यादवको नागरिकतामा ८५ वर्ष उमेर छ, तर उनी ६६ वर्षका छन्।

ज्येष्ठ सदस्य छनोट भएपछि तुरुन्तै राष्ट्रपतिसमक्ष शपथ ग्रहण गराउने तयारीमा संसद् सचिवालय रहेको छ, तर संसद् सचिवालयका एक अधिकारीले भने पुस ३ गते समानुपातिकतर्फका उमेदवारलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउने कार्य सम्पन्न गरेपछि सर्वदलीय छलफल गरेर अघि बढ्ने तयारीमा रहेको छ।

ज्येष्ठ सदस्यले २०१६ सालदेखि नै पहिलो बैठकको अध्यक्षता गर्ने परम्परा छ। २०१६ सालमा गिरीप्रसाद बुढाथोकीले दुईवटा बैठकमा ज्येष्ठ सदस्यको भूमिका निर्वाह गरेका थिए भने २०४८ सालको संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य खलिल मियाँको अध्यक्षतामा संसद् बैठक बसेको संसद् सचिवालयले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्