काठमाडौं, २ पुस । जनता समाजवादी पार्टीका नेता मनिष सुमनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेको बताएका छन् ।
‘हामी प्रदेश १ र मधेस प्रदेशमा मात्र नभएर देशकै निर्णायक शक्ति हौं । प्रदेश १ मा । जसपाको एक सिट जता गयो, उतै सरकार बन्ने स्थिति छ । मधेस प्रदेशमा तेस्रो छौं । हामीले चाहेकै सरकार बन्छ । सघंमा छैटौं ठूलो पार्टी हो । संघमा पनि हामी निर्णायक शक्ति हौं । तर जसपा हामीलाई यो मन्त्रालय चाहिन्छ, मुख्यमन्त्री चाहिँदैन भन्ने उत्ताउलो पार्टी होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
जसपा अहिले कुनै गठबन्धनमा नभएको पनि सुमनले बताए । उनले भने, ‘हामी अहिले कसैसँग गठबन्धित छैनौं । जसपा कोहीसँग छैन । स्वतन्त्र छ । जसपा हिजो उदाएर आएर आज पलाएको पार्टी होइन । तीनवटा मधेस आन्दोलन र संघर्षबाट आएको पार्टी हो । जनादेशका हिसाबले कांग्रेस र एमालेलाई सरकार निर्माणको पहल गरेको सुन्छु । जनादेश भए पनि नभए पनि छन् प्रचण्डले पनि पहल गरेको सुन्छु । तर हामी प्रतिपक्षमा बस्न पनि तयार छौं ।’
सुमनले सरकारले ल्याएको अध्यादेश जालझेल र प्रपञ्च मात्र भएको बताए । उनले भने, ‘रेशम चौधरी छुट्नुभयो भने हामीबाहेक खुसी को हुन सक्छ ?हामी अध्यादेशको बचाउको पक्षमा छैनौं । भविष्यमा सरकार निर्माण गर्न संगी दलको खोजीमा हड्डीको टुक्रा फालेको मात्र हो । यसलाई अहिले नै राष्ट्रपतिले निस्तेज गर्न खोज्नुभएको छ । राष्ट्रपतिले स्वीकृत गरे पनि अदालतले खारेज गरिदिनेछ । म त के भन्छु भने पहिले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौं र सीधै मुद्दा फिर्ता लिए हुन्छ । बाइज्जत रिहा गरे हुन्छ । अध्यादेश फगत प्रपन्च हो ।’