काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद सञ्जय गौतमले पार्टीको संस्थापन पक्ष सर्वसम्मतिको प्रयासमा लागेको बताएका छन् ।
‘संसदीय दलको नेताका विषयमा हामी छलफल गर्दैछौं । संस्थापन पक्षले सर्वसम्मतिको प्रयास गर्ने कुरा पनि आएको छ । त्यसमा पनि हामी सोच्छौं । प्रतिस्पर्धा भएको स्थितिमा हाम्रो विचार समूहबाट एकजना उम्मेदवार बन्नुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।
तपाईंको विचार समूहबाट शेखर कि गगन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘यसबारे टुंगो लागेको छैन । यो वा त्यो भन्ने उपयुक्त समय होइन । दुई जनाबीच कुरा भइरहेको छ । हाम्रो समूहमा कुनै विभाजन छैन । मिल्ने कुरामा त मिल्न दिनोस् यार । हामी त्यस्तो कमजोर मनस्थितिमा छैनौं । शेखरले पनि इच्छा राख्नुभएको छ । उहाँ हाम्रो टिमको नेता हो । उहाँले इच्छा गर्न पाउनुहुन्छ । गगनजी महामन्त्री हो र भविष्यको सम्भावना हो । उहाँले इच्छा राख्नु पनि स्वाभाविक हो । तर जो उम्मेदवार भए पनि एक जना हुने हो ।’
तपाईंको समूहबाटै दुई जना उम्मेदवार हुने स्थिति आयो नि भन्ने प्रश्नमा गौतमले भने, ‘मुलुक चलाउने कुरालाई हामीले हल्का रुपमा लिएका छैनौं । यो विचार समूह खण्डित भयो भने कोही प्रधानमन्त्री वा सभापति बन्ने स्थिति रहँदैन । शेखर र गगनजी टिमलाई कसरी इन्ट्याक्ट राख्ने भनेर चिन्तित हुनुहुन्छ । अहिले हाम्रो कित्ताकाट नगर्नोस् यार । एकदुई दिनमा हाम्रो समूहको बैठक बस्छ अनि निर्णय दिउँला ।’
गठबन्धनबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा पनि उनले गरे । गौतमले थपे, ‘गठबन्धनको स्पिरिट हामी मेन्टेन गर्छौं । चुनावमा कहाँ त्रुटि भयो, भएन, हामी हेर्छौं । कांग्रेस गठबन्धनप्रति इमानदार छ । गठबन्धन लामो समयसम्म चलोस् भन्ने चाहन्छ ।’
अर्को प्रसंगमा उनले रुपन्देहीको सालझन्डीमा नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुनु सामान्य भएको टिप्पणी गर्दै त्यसलाई अतिरञ्जित बनाउन आवश्यक नभएको औंल्याए ।