Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमालेको प्रस्ताव, ईश्वर पोखरेलले गरे महत्वपूर्ण भेटवार्ता



काठमाडौं, २ पुष । नेकपा (एमाले) ले नयाँ सरकार गठनको लागि पहलकदमी लिन थालेको छ । एमाले शीर्ष नेताहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग सरकार गठनलाई बाक्लो भेटवार्ता अघि बढाएका छन् ।

प्रचण्डले आफू सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने पक्षमा नरहेको बताउने गरेका छन् । तर, कांग्रेसले सरकारको नेतृत्व पहिलो चरणमा गर्न नदिए गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने मुडमा दाहाल पुगिसकेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रचण्डलाई भेटेको खुलासा भएको छ । उनले गठबन्धन तोडेर आए नयाँ सरकारको नेतृत्वमा एमालेले प्रचण्डलाई सघाउने वचन दिएको बुझिएको छ ।

यद्धपी यो विषयमा दुवै दलका नेताहरुले अहिलेसम्म मुख खोलेका छैनन् । यसअघि दाहालले एमालेसँगको सहकार्यको लागि महासचिव देवप्रसाद गुरुङलाई दूत बनाएर ओली निवासमा पठाईसकेका छन् । गुरुङले पनि आफूहरुबीच राजनीतिक विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

एमाले–माओवादी सहकार्यको ठोस प्रस्ताव लिएर यसअघि नै एमाले सचिव रघुवीर महासेठले दाहालसँग खुमलटारमा दुई घण्टा लामो छलफल गरेका थिए । ०७४ मा वाम गठबन्धनको सहमतिपनि उनै महासेठको निवासमा बसेर ओली र दाहालले गरेका थिए । महासेठले दाहालसँग गरेको भेटवार्तालाई कांग्रेसलेपनि अर्थपूर्ण रुपमा लिएको छ ।

कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व गर्न दाहाललाई नदिने भएपछि नै दाहालले पनि एमालेसँग सहकार्यको लागि हात अघि बढाएका छन् । एमाले अध्यक्ष ओली पनि अहिले रहस्यमयी तवरले मौन छन् । नेपालका वामपन्थीहरु छरिएर बस्दा जनमत कांग्रेसको पक्षमा पुग्ने देखेपछि नेतृत्वले गम्भीर समिक्षा गरेर एकता र सहकार्यको लागि तयार हुने अवस्था देखिएको एमाले–माओवादीका दोस्रो तहका नेताहरुको भनाई छ ।

कांग्रेस छोडेर स्वतन्त्रबाट चुनाव जितेका डा. अमरेशकुमार सिंहले पनि कांग्रेसले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नबनाए वर्तमान गठबन्धन टुट्ने भविष्यवाणी गरेका छन् । आजको प्राइम सम्वादमा कुरा गर्दै सिंहले भनेका छन्–‘प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धन बच्दैन् । गठबन्धन बचाउनको लागि पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ । यति कुरा म भन्न सक्छु ।’ उनले ओली, प्रचण्ड र माधव नेपाल पनि एक हुने खुलासा गरेका छन् ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु मिलाएर नयाँ सरकार गठनको लागि पहल भैरहेको छ । एमालेको राजनीतिक स्पेसको लागि पनि गठबन्धन टुटाउने एमालेको प्रयत्न हुने सिंहको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot