Logo

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छैनः रायमाझी



काठमाडौं, ३ पुस । नेकपा एमालेका सचिव एवं नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टी सरकार बनाउने होडबाजीमा नभए पनि सरकारमा जानैहुन्न भन्ने सोच नरहेको बताएका छन् ।
‘नेकपा एमालेले सरकार बनाउनेतिर त्यति धेरै ध्यान दिएको छैन । संसदमा गणितीय दृष्टिले दोस्रो पार्टी भएकाले हामीले अनावश्यक चलखेल गर्नु पनि राम्रो हुन्न । एमालेको पहिलो लोकप्रिय मत भए पनि सरकारको नेतृत्व लिने जनादेश छैन । त्यसैले तत्काल हामीले सरकार गठनको पहल गर्नु आवश्यक छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले भने ।
तर सरकारको नेतृत्व लिनैहुन्न भन्ने पनि नरहेको उनले बताए । रायमाझीले थपे, ‘अर्कोतर्फ गठबन्धनलाई सामान्य बहुमत पनि आएन, खुद्राखुद्री पार्टी चाहिने स्थिति छ । ठूलो दल भएकाले सरकार बनाउने पहिलो अवसर कांग्रेसलाई नै प्रदान होला । एमालेले गठबन्धनलाई सम्पूर्ण कुरा छाडिदिएर राष्ट्रको जिम्मेवारी लिनैहुन्न भन्ने छैन । प्रचण्डजी वा केपी ओलीजी प्रधानमन्त्री हुनैहुन्न भन्ने पनि होइन । छलफलै चलाउन सकिँदैन भन्ने पनि होइन । तर पार्टीले कसैलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छैन ।’ उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना पनि रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्