चितवन, पुस ३ । विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ ।
होटलले खुवाएको खानामा दिसामा पाइने ब्याक्टेरिया देखिएको, भान्छाकोठामा फोहोर भेटिएको, भण्डारण कक्षमा राख्ने सामग्रीलाई उचित व्यवस्थापन नगरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले होटललाई कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष बुझाउन तयार गरिएको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरेको छ ।
उक्त होटलमा गत मङ्सिर २३ र २४ गते विवाह भोज खाएकाहरू बिरामी परेका थिए । नवलपुरको गैँडाकोट नगरपालिकाबाट भरतपुरमा विवाहका लागि आएका दुलही र दुलहा दुवै पक्षका गरी पाँच सय जनाले भोज खाएपछि बिरामी भएका थिए ।