Logo

कांग्रेस संसदीय दलको नेताको निर्वाचन : शेखर अघि बढे, गगन पनि नरोकिने



काठमाडौं, ४ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि भोलि उम्मेदवारी दिने कार्यतालिका छ । दलको नेताको लागि सभापति शेरबहादुर देउवा उठ्ने घोषणा गरिसकेका छन् । संस्थापनइतर पक्षबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा उठ्ने चर्चा छ । यो समूहबाट कोइराला र थापामध्ये एक जनामात्रै उठ्न नेताहरुको सुझाव छ। त्यसको लागि सो समूहका नेताहरुले आज सहमतिको लागि थुप्रै प्रयास गरेका थिए ।

तर, कोइराला र थापा दुवैले आफ्नो अडान कायम राखेपछि सहमति जुटेन । थापाले आफ्नो पक्षमा कोही नउभिएपनि उम्मेदवारी दिने अडान लिएपछि आजको भेटवार्तामा एकल उम्मेदवारी दिनेबारे सहमति नजुटेको बताईएको छ । कोइरालाले सुरुमा आफू उठ्नेबारे कुनै संकेत गरेका थिएनन् ।

तर, उनको समूहका नेताहरुले अहिले थापालाई अघि बढाउन नहुने र आँफै उठ्न सुझाव दिएपछि उनी ढिलोगरि दलको नेताको लागि चुनावी मैदानमा खडा भएका छन् । संसद्को टिकट वितरणमा नै सभापति देउवा हाबी भएको कारण उनी नै दलको नेता बन्ने निश्चितप्रायः छ ।

तर, संस्थापनइतर पक्षले आफ्नो पकड कायम राख्नको लागि पनि उम्मेदवारी दिनेगरि छलफल थालेको छ । यो समूहबाट एक जनाको मात्रै उम्मेदवारी परे सभापति देउवालाई दलको नेतामा कडा टक्कर दिन सकिने सो समूहका नेताहरुको बुझाई छ ।

तर, अन्तिम समयमा आएर शेखर दलको लागि अघि बढेका छन् । उता, महामन्त्री थापा पनि नरोकिने प्रष्ट संकेत गरेका छन् । थापालाई अर्का महामन्त्री गगनकुमार थापाको साथ छ । उनी कुनैपनि हालतमा आफू दलको नेताको उम्मेद्वार बन्ने भन्दै ब्याक नहुने पक्षमा छन् ।

तर, सो समूहका प्रभावशाली नेताहरुले आज रातभरि र भोलि विहान ७ बजेसम्म सहमति कायम गर्न शेखर र गगनलाई आग्रह गरेका छन् । उनीहरु भर्खरै काठमाडौंको होटेल एम्बास्डरबाट छुटिएका छन् । दलको नेताको लागि भोलि दिउँसो २ बजेसम्म उम्मेदवारी दिने कार्यतालिका छ । file photo



प्रतिक्रिया दिनुहोस्