काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो ।
एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा नेताहरूको प्रयास छ ।’ चुनावी परिणाम आएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्यको अध्याय सकिएको बताएका थिए । जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ ।’
पछिल्लो एक साता जसपा अध्यक्ष यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुईपटक भेट गरिसकेका छन् । दाहालसँग भेट गरी यादव शनिबार रौतहट पुगेका थिए । उनी काठमाडौं फर्केर सरकारको विषयमा गम्भीर छलफल गर्ने जसपाकै प्रवक्ता मनीष सुमनले बताए ।
उनले भने, ‘सरकारमा नजाने जसपाको नीति होइन र दुईवटै गठबन्धनमा जान हामी खुला छौं ।’ चुनाव सकिएसँगै एमाले र जसपाबीचको सहकार्य पनि सकिएको सुमनको भनाइ छ । ‘एमाले र हामीबीच चुनावी तालमेलको अध्याय सकिएको छ। त्यसैले अब दुईवटै गठबन्धनमा जान हामी खुला छौं,’ उनले भने ।
जसपा स्रोतका अनुसार सरकारमा जान जसपाका सांसद इच्छुक देखिएका छन् । ‘त्यसमा पनि प्रतिनिधिसभामा पहिलोपटक आएका सांसद यसैपटक सरकारमा जान झनै इच्छुक देखिनुभएको छ,’ जसपाका एक नेताले भने । आजको नागरिक दैनिकबाट