Logo

नयाँपनका लागि गगन थापाको उम्मेदवारी जरुरीः प्रतिमा गौतम



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसकी नेतृ एवं सांसद प्रतिमा गौतमले पार्टीको संस्थापन इतर समूहबाट संसदीय दलमा एकल उम्मेदवार बन्नेमा आशावादी भएको बताएकी छन् ।
‘हाम्रो विचार समूहमा शेखर कोइराला र गगन थापा आकांक्षी देखिनुभएको छ । दुवै नेता आदरणीय हुनुहुन्छ । हामी दुवै नेता बसेर सोचेर एकअर्कालाई समर्थन गरेर आउनुहुन्छ भन्नेमै छौं । दुइटा उम्मेदवार हुँदैनन् भन्नेमा विश्वस्त छौं । सुरुमै मिल्यो भने छलफल र बहस हुँदैन । मिल्ने अन्तिममा त हो नि । बहसलाई दरार भन्न मिल्दैन । हामी एकल उम्मेदवार बनाउँछौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भनिन् ।
उनले संस्थापन इतर समूह मिलेर नजाँदा पार्टीपंक्तिमा निराशा छाउने पनि बताइन् । गौतमले थपिन्, ‘हाम्रो समूह यसै कमजोर छ । अब पनि मिलेर नजाँदाखेरि देशभरिका साथीहरुलाई निराशा छाउँछ । हार्ने, दोस्रो वा तेस्रो हुने चुनावमा किन लडाइँ गर्ने ? हाम्रो टिम एक भएर अघि बढ्छ भन्नेमा धेरै नेता एवं सांसद साथीहरु विश्वस्त हुनुहुन्छ ।’ संस्थापन इतर समूहले बिहान ८ बजे फेरि छलफल गर्दैछ । संसदीय दलको नेता मनोनयका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
गगन र शेखरबीच सहमति नभए के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘यो त तपाईंले समय आएपछि थाहा पाइहाल्नुहुन्छ नि ।’ साथै गौतमले आफू पुस्तान्तरणको पक्षमा उभिएको पनि औंल्याइन् । उनले भनिन्, ‘स्वाभाविक रुपमा हामी आफ्नो पुस्ताको पक्षमा उभिन्छौं । पुस्तान्तरणको पक्षमा उभिन्छौं । गगनजीले जनतामा भावी प्रधानमन्त्री भनेर भोट माग्नुभएको हो । उहाँ त्यो पूरा गर्न चाहनुहुन्छ । निर्वाचनको म्यान्डेट अनुसार नयाँपन दिनका लागि गगन थापाजीको उम्मेदवारी जरुरी छ कि भन्ने महसुस गरेका छौं ।’
संसदीय दलको अंकगणित सभापति शेरबहादुर देउवाकै पक्षमा देखिए पनि आफूहरु आशाको दियो जगाउने पक्षमा रहेको पनि उनले बताइन् । गौतमले भनिन्, ‘राजनीतिमा चाहेको कुरा उत्तिन्खेरै प्राप्त हुँदैन तर प्रयत्न गरिरहनुपर्छ । मतका हिसाबले सभापतिजी नै अगाडि हुनुहुन्छ । तर आशाको दियो जगाउने युवा कांग्रेसमा छन् भन्ने सन्देश दिन पनि गगनजी अगाडि आउनुपर्छ ।’
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा अघि सार्नु उपयुक्त हुने पनि उनले बताइन् । गौतमले भनिन्, ‘रामचन्द्र दाइलाई अझ राष्ट्रपतिको भूमिकामा लैजानु उपयुक्त हुने छलफल चलेको छ । उहाँको सम्मान पनि हुने, राष्ट्रको हित हुने भन्ने कुरा छ ।’ सांसद गौतमले आगामी सरकार कांग्रेसकै नेतृत्वमा बन्नुपर्ने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्