Logo

राष्ट्रपतिमा एकीकृत समाजवादीको दाबी छः झलनाथ खनाल



काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनका कुनै पनि पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिने स्थिति नरहेको बताएका छन् ।
‘अहिले गठबन्धनमा कुनै पनि पार्टीले एकभन्दा बढी पद पाउँदैन । सबभन्दा ठूलो दल भएकाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर लैजान सक्दा मात्र गठबन्धन लामो समय जान्छ । गठबन्धनलाई बलियो र जनमुखी बनाएर राष्ट्रको हितमा अगाडि बढाउनुपर्ने पावर सेयरिङ गर्नुपर्छ । न्यायोचित वितरण होस् भनेर हाम्रो पार्टीका तर्फबाट राष्ट्रपति पदमा दाबी गरिएको हो । यो प्रस्तावका निम्ति प्रस्ताव होइन । गठबन्धनलाई सन्तुलित ढंगले अघि बढाउने प्रस्ताव हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
राजनीतिक हिसाबले परिपक्व, संविधानको मर्म र भावनालाई गहिरो बुझेको, संविधानको ठीक ढंगले परिपालना र कार्यान्वयन गर्ने प्रतिबद्धता भएको व्यक्ति राष्ट्रपति हुनुपर्ने उनले औंल्याए । खनालले थपे, ‘हामीले कलिलो लोकतन्त्रलाई कसरी सुदृढीकरण गर्दै लैजान्छौं, आम जनताका चाहनालाई कसरी सम्बोधन गर्छौं, गठबन्धनलाई कसरी सन्तुलित ढंगले अघि बढाउन सक्छौं, यो नेतृत्वको खुबी वा कलामा निर्भर गर्छ । आफ्नो पार्टीको हित मात्र सोच्ने हो भने भविष्यलाई आशावादी भएर सोच्न सकिदैन । विगतमा राष्ट्रपति बनाउने सन्दर्भमा देखाउन नसकेको दूरदर्शिताले गर्दा राजनीतिक प्रवाहमा समस्या खडा भएको तथ्य हामीले मनन गर्नैपर्छ ।’ नेता खनालले राष्ट्रपति पदमा मुख्य राजनीतिक दलहरुबीच सर्वसम्मति हुनु उचित हुने पनि बताए ।
अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति नरहेको पनि उनको जिकिर छ । खनालले भने, ‘मुलुकले स्थायित्व खोजिरहेको छ । संसदीय व्यवस्थाको चरित्र र संस्कारलाई हेर्ने हो भने एउटा ठूलो दलले सरकार बनाउने हो, अर्को ठूलो दल प्रतिपक्षमा बस्ने हो । त्यसैले अहिले गठबन्धन सरकार बनाउनुको विकल्प छैन । चुनावमा मिलेर गएका दलहरु अब देब्रे दाहिने हुन्छन् भन्ने लाग्दैन ।’
उनले नेपाली कांग्रेसले प्रधानमन्त्री पदमा दाबी गर्नु स्वाभाविक भएको पनि बताए । खनालले भने, ‘ठूलो पार्टीले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक हो । अरु दलले भन्न पनि अप्ठ्यारो हुन्छ । सहमतिमा कहिलेकाहीं तेस्रो पार्टीले पनि पाउन सक्छ । तर अहिले त्यस्तो हुन्छ जस्तो लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot