Logo

साउदीमा जेल बसे, नेपाल फर्केपछि गाई फर्म खोले



दाङ, पुस ६। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकीले व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएका छन् ।

यो पेसाबाट सन्तुष्ट बुढाथोकी भन्छन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।”

बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकापछि उनी साउदीमा जेल परे ।

पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लागेका बुढाथोकीले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ ।

अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी सुनाउछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्