Logo

गगनलाई युवाले पत्याएर हुँदैन, सांसदले पत्याउनुपर्छ, शेरबहादुर देउवाले ६० मतका साथ जित्नुहुन्छः रमेश रिजाल



काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रमेश रिजालले पार्टीभित्र र गठबन्धनमा सबैलाई मिलाएर हिँड्न सक्ने नेता शेरबहादुर देउवा मात्र भएको बताएका छन् ।
‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । संसदीय दलमा जो कोही सांसदले नेता बन्ने अधिकार राख्छ । नेतृत्वलाई चुनौती दिन सक्छ । यसलाई अन्यथा रुपमा लिनुपर्दैन । यो निरन्तर चलिरहने कुरा हो । तर पार्टीभित्र र गठबन्धनमा सबैलाई मिलाएर हिँड्न सक्ने नेता शेरबहादुर देउवा मात्र हुनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
नेता रिजालले शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने र गठबन्धन सरकारको नेतृत्व गर्ने दाबी पनि गरे । उनले भने, ‘शेरबहादुर देउवा ६० मत ल्याएर जित्नुहुन्छ । गगनजीले पनि मत त ल्याउनुहोला । जिते उहाँ हाम्रो पनि नेता हुने हो । हारे भने फेरि प्रयास गर्नुहोला । देउवासँग विचार नभएको भए पाँचचोटि प्रधानमन्त्री हुनुहुन्थ्यो र ? उहाँ जनमत लिएर हुनुभएको होइन र ? देउवा गम्भीर हुनुहुन्छ । ट्याउँ ट्याउँ बोलेर मात्र विचार हुने हो र ? कसैले बोल्दैमा ब्रह्मवाक्य हुने हो र ?’
कांग्रेसमा युवा नेताहरुको पालो आउने पनि उनले बताए । रिजालले भने, ‘राजनीतिमा कान्छो र बूढो हुँदैन । पार्टीमा नयाँ अनुहारभन्दा पनि नयाँ विचार चाहिन्छ । शेरबहादुर देउवा अहिलेसम्म सबैलाई मिलाएर आउनुभयो । संसदीय दलको नेता हुन युवाले पत्याएर हुँदैन, सांसदले पत्याउनुपर्छ । अहिले युवाहरुको पालो आइसकेको छैन । आएपछि स्वतः पाउनुहुन्छ । उहाँहरु मन्त्री बन्नुभएको छ, पार्टीमा पदाधिकारी हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्