काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले जनमत निरन्तरताभन्दा परिवर्तनको पक्षमा भएकाले संसदीय दलमा गगन थापाको जित सुनिश्चित भएको बताएका छन् ।
‘गगन थापाको विजयको आधार पार्टीका ८९ जना सांसद हुनुहुन्छ । उहाँहरुकै मतदानबाट संसदीय दलमको नेता बन्ने हो । टाढाको आधार कहाँ खोज्ने ? जनमत परिवर्तनको पक्षमा देखिन्छ । सांसदहरुले जनमतकै सन्देश बोक्ने हो । पार्टी र सरकारमा नेतृत्व परिवर्तन र राजनीतिलाई सुधार गर भन्ने जनमत छ । त्यसलाई मैले मात्र होइन, सबै सांसद साथीहरुले आत्मसात् गर्नुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
सैद्धान्तिक र नीतिगत आधारमा गगनको जित निश्चित भएको पनि उनले औंल्याए । पाण्डेले थपे, ‘पार्टीभित्र निरन्तरताका पक्षमा पनि मत छ, परिवर्तनका पक्षमा पनि छ । तर जनमत विकल्प खोजिरहेको छ कि निरन्तरता खोजिरहेको छ, सांसद साथीहरुले हृदयंगम गर्नुहुन्छ । त्यसकारण सैद्धान्तिक र नीतिगत आधारमा गगनजीले नै जित्नुहुन्छ ।’
गगन थापा पार्टीभित्र परिवर्तनको बिम्ब भएको पनि पाण्डेले बताए । उनले भने, ‘उहाँ पार्टीको महामन्त्री हो । औसत क्षमताले यहाँ आइपुगिँदैन । विलक्षण क्षमताका साथ आउनुभएको हो । उहाँ विजयी हुनुभयो भने पार्टीका सबै जना समर्थनमा आउनुहुन्छ । नेतामा निर्वाचित भएपछि सबैको सहयोग रहन्छ । सांसदहरुले मतदानका बेला पनि त्यो माहोलको अनुभूति गर्नुभएको छ । गगन थापा परिवर्तनको बिम्ब हो ।’
गगन थापा र शेखर कोइरालाबीच कुनै सम्झौता नभएको पनि पाण्डेले दाबी गरे । उनले थपे, ‘शेखर कोइराला चौधौं महाधिवेशनमा हाम्रो कमान्डर हो । स्वाभाविक रुपमा अहिले पनि उहाँ हाम्रो टिमको नेता हो । आगामी दिनमा पनि प्राधिकार उहाँसँग नै छ । वचन दिनुपर्ने वा सम्झौता गर्नुपर्ने कुनै कारण छैन । पन्ध्रौं महाधिवेशनमा अर्को निर्णय नगरुन्जे उहाँ नै सभापतिको उम्मेदवार हो ।’
गगन थापाले जिते गठबन्धनको सरकार बनाउने अवस्था नआउला नि भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, ‘दलको नेता भइसकेपछि गगन थापा स्वतः गठबन्धनको नेता हुनुहुन्छ । त्यसपछि पावर सेयरिङका कुरा आउँछन् । कांग्रेसमा को नेता बन्ने भन्ने कुरा हाम्रो आन्तरिक कुरा हो । माओवादीमा को नेता भएर आउँछ भन्नेमा हामी चासो राख्दैनौं । गगन नेता भए गठबन्धनमा कुनै समस्या होला भन्ने लाग्दैन । सबैले व्यक्तिभन्दा पद र भूमिकालाई समर्थन गर्ने हो ।’