Logo

गगन थापाले काठमाडौं ४ मा चुनाव जित्न मात्र प्रधानमन्त्रीको फन्डा गरेका हुन्ः एमाले नेता



काठमाडौं, ७ पुस । नेकपा एमालेका नेता विष्णु रिजालले गगन थापाका कारण नेपाली कांग्रेसमा शेखर कोइराला समूह नै कमजोर भएको बताएका छन् ।
‘गगन थापा प्रधानमन्त्रीको उम्मेदवार नै हुनुहुन्थेन । उहाँ गम्भीरतापूर्वक लागेको पनि देखिन्थेन । काठमाडौं ४ मा चुनाव हार्छु भनेर उहाँले प्रधानमन्त्रीको फन्डा निकाल्नुभएको मात्र हो । शेखर कोइराला समूहको ३४-३५ भोट थियो । उहाँलाई १० कम भोट कम आयो । आफ्नै समूहले पत्याएन । टिमकै राजनीति कमजोर भयो । अहिले आएर त्यो फन्डाको पटाक्षेप भएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
कांग्रेस संसदीय दलको निर्वाचनमा सबभन्दा कमजोर प्रतिद्वन्द्वी गगन थापा नै देखिएको टिप्पणी पनि उनले गरे । रिजालले थपे, ‘पार्टीमा गगन अशक्त हस्तक्षेप देखियो । सामाजिक सञ्जाल र बाहिरी दुस्टन्टबाजीले मात्र प्रधानमन्त्री बन्न सकिँदैन । उहाँले मै सर्वेसर्वा हुँ भनेर ललकार्नुभएको थियो । कांग्रेस संसदीय दलको इतिहासमा उहाँ सबभन्दा कमजोर प्रतिद्वन्द्वी रहनुभयो ।’
पार्टीमा प्रक्रियाभन्दा परिणाम महत्त्वपूर्ण भएको पनि रिजालले औंल्याए । उनले थपे, ‘गगनजी महामन्त्री भएको एक वर्ष भइसक्यो । भातृसंगठन लथालिंग देखिन्छ । पार्टी अव्यवस्थित छ । उहाँ प्रक्रिया चाहनुहुन्छ कि परिणाम ? संसदीय दलमा उठेर अरु पार्टीलाई अप्ठ्यारो पार्छु भन्ने उहाँको दम्भ भएको थियो । अहिले उहाँको शेखी झरेको छ । उहाँ युवा पुस्ताभन्दा पनि मिडियोकोर र प्रोजेक्टेड व्यक्ति भएको कुरा कांग्रेसका सांसदहरुले सुझबुझका साथ अस्वीकार गरे । गगनजी २० वर्ष सांसद भैसक्नुभयो । तर काठमाडौं ४ को अवस्था के छ ? त्यसबाट पनि थाहा हुन्छ ।’
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेसबाट प्रधानमन्त्री पद फुत्काउन वामपन्थी सरकार बनाउने धम्की दिइरहेको आरोप पनि लगाए । रिजालले भने, ‘दुइटा सरकार बन्दैन, दुईतिर बहुमत पुग्ने होइन । त्यसैले हामी सरकार बनाउने हतारोमा छैनौं । तर राजनीतिमा विकल्प खुला छ । एमाले तयार पनि छ । जनताले एकल म्यान्डेट दिएको छैन । तर वामपन्थी सरकारका नाममा प्रचण्डले नेपाली कांग्रेसबाट पहिले प्रधानमन्त्री खान खोजेका हुन् । अब आफैं प्रश्न सोध्ने आफैं उत्तर दिने शैली बन्द हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot