Logo

शिक्षक मृत्यु प्रकरणः बैतडीका शिक्षण संस्था आजपनि बन्द



बैतडी, पुस ७ । बैतडीका पाटन नगरक्षेत्रभित्रका विद्यालय आजपनि बन्दको आह्वान गरिएको छ। पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुई दिनदेखि बन्द रहेको अवस्थामा बिहिबार पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ।

बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले बिहीबार जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय गरेको छ। यसैबिच शिक्षक बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै गरिएको यातायात बन्द खुलेको छ।

संघर्ष समितिले दशरथचन्द राजमार्गमा गरेको यातायात बन्द सुचारु गर्ने निर्णय भएको संघर्ष समिति संयोजक लिला बिष्टले बताइन्। यात्रुहरुको समस्यालाई ध्यानमा राखेर बिहिबार बिहान १० बजे सम्मका लागि यातायात सुचारु गरिएको बिष्टले बताइन्।

यही पौष २ गते शनिबार मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको भबितव्य मृत्यु नभइ हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन्। संघर्ष समितिले स्थानीय प्रशासनसंग वार्ता गरेपछि यातायात सुचारु गरेको हो। यातायात सुचारु भएसंगै यात्रुहरु गन्तव्य तर्फ लागेका छन्। सुर्नया गाउँपालिका २ ग्वानी घर भइ विगत ३४ बर्षदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट पौष २ गते शनिबार मृत फेला परेको थिए।



प्रतिक्रिया दिनुहोस्