Logo

शेरबहादुर देउवाले दुई वर्षपछि युवालाई मौका दिनुहुन्छः उदयशमशेर



काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले संसदीय दलमा कसैको विजय र पराजय नभएको बताएका छन् ।
‘नेपाली कांग्रेस भाइब्रेन्ट पार्टी हो । संसदीय दलको चुनाव होइन, चयन भएको हो । यो नितान्त आन्तरिक प्रतिस्पर्धा हो । यसमा विजय र पराजय हुने कुरा नै छैन । एउटा युवाले पुरानो पुस्तालाई चुनौती दिएको छ । हामी जसको नेतृत्वमा चुनावमा गएका थियौं, उसैलाई सांसदहरुले साथ दिएका छन् । सिटिङ प्रधानमन्त्रीलाई नै पहिलो प्राथमिकता दिएका छन् । दुई वर्षका लागि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि युवालाई मौका दिनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले भने ।
उनले शेरबहादुर देउवालाई पार्टी सभापति बन्न २० वर्ष लागेको पनि स्मरण गरे । राणाले थपे, ‘आजको भोलि नै नतिजा निस्कँदैन । सदैव जित्नका लागि मात्र उठिँदैन । चुनौती दिनु र सफल हुनु अलगअलग कुरा हो । गगन थापाले आन्तरिक प्रतिस्पर्धाको महत्त्व छ भन्ने देखाउनुभएको छ । अहिले गठबन्धनको सरकार चलाउन अप्ठ्यारो परिस्थिति छ । त्यो क्षमता देउवासँग छ ।’
संसद्को सबभन्दा ठूलो पार्टी भएकाले पहिलो चरणमा नेपाली कांग्रेस र पछि नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व लिए जनतामा राम्रो सन्देश जाने पनि राणाले बताए । उनले भने, ‘अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । अब प्रचण्ड बन्नुभयो भने पनि आकाश खस्ने कुरा छैन । त्यसैले प्रचण्डले प्रधानमन्त्री दाबी गर्नुमा मलाई कुनै आश्चर्य लागेको छैन । तार्किक हिसाबले भन्ने हो भने कांग्रेसको ८९ सिट छ । साढे दुई वर्ष कांग्रेसले चलाएपछि माओवादीको पालो आउनु उचित हो ।’ उनले शनिबारसम्म गठबन्धन सरकारको नेतृत्वको टुंगो लाग्ने पनि बताए ।
अब राष्ट्रपति को हुन्छ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘यसबारे मलाई धेरै ज्ञान छैन । राजनीतिक मानिसलाई बनाउने कि गैर राजनीतिक व्यक्तिलाई बनाउने ? कांग्रेसलाई पाउने कि माओवादीले पाउने भन्ने निश्चित नभएको अवस्थामा बोल्नु उचित पनि हुँदैन । राष्ट्रपति निर्वाचन लागि अझै दुई महिना बाँकी छ । कसलाई बनाउने भन्ने छलफल गठबन्धनमा छलफल हुन्छ । यसमा पब्लिक सेन्टिमेन्टलाई पनि मनन गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot